मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारीको सरुवामा अब कसैको भनसुन नचल्ने बताउनुभयो ।
विराटनगरमा मंगलबार नेपाल राष्ट्रिय कर्मचारी संगठन १ नम्बर प्रदेशको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताउनुभएको हो । कर्मचारी सरुवाको बेथिति न्युनीकरणका लागि केही नीतिगत व्यवस्था गर्ने बताउँदै मन्त्री मोदीले सरुवामा नेताले भनिदिनुपर्ने वा नेतालाई भन्न लगाएर सुगम ठाउँमा बस्ने प्रवृत्ति अब अन्त्य हुने बताउनुभयो । ‘त्यसको अन्त्यका लागि केही नीतिगत व्यवस्था गछौं’ उहाँले भन्नुभयो, ‘अब सरुवामा अब भनसुन चल्दैन ।’
भर्खरै बढुवा भएका उपसचिवलाई कसैको कुरा नसुनीकन स्थानीय तहमा पठाएर भनसुन प्रवृत्ति अन्त्यको थालनी गरेकोसमेत मन्त्री मोदीले उल्लेख गर्नुभयो ।























