दमक/ दमकमा प्रहरीका नयाँ इञ्चार्जले जिम्मेवारी सम्हाले लगत्तै तास जुवा खेल्ने खेलाउने गिरोहलाई निशाना बनाएका छन । इलाका प्रहरी कार्यालय दमकको इञ्चार्जमा डिएसपी मनोज लामाले जिम्मेवारी सम्हाले लगत्तै जुवातासलाई निशाना बनाएका हुन ।
दमकमा प्रहरीसँगको सेटिङमानै हुने गरेको जुवातासको धन्दा हरेक पटक इलाका प्रहरी कार्यालय दमकमा इञ्चार्ज फेरबदल भएपछि बाहिर आउने गरेको छ । यसलाई प्रहरी र त्यस्तो गिरोहबीचको सेटिङका रुपमा लिने गरिन्छ ।
पछिल्लो समय प्रहरी टोलीले दमकका दुई स्थानबाट १५ जनालाई तास जुवा खेल्ने खेलाउने गतिबिधिमा संलग्न रहेको आरोपमा रंगेहात पक्राउ गरेर छाडेको छ । प्रहरीले उनीहरुलाई कानुनी प्रकृया पुरा गरेर बुधबार अपरान्ह छोडेको जनाइएको छ ।
दमक ५ स्थित एक होटलमा तास खेलिरहेको अवस्थामा होटल संचालक सुरेश मगरसहित ७ जना र दमक ५ का सुदेश बस्नेतको चिया पसलबाट बस्नेतसहित ८ जना पक्राउ परेका थिए । प्रहरीले पक्राउ परेका उनीहरुको विवरण सञ्चारमाध्यमलाई उपलब्ध गराउन आनाकानी गरेको छ ।
मगरको होटलबाट उनीहरुलाई नगद २८ हजार ४ सय ५० रुपैयाँ र ३ बुक ताससहित गरेको थियो भने बस्नेतको चिया पसलबाट नगद २८ हजार ७० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको थियो । उनीहरु सबैको पहिचान लुकाउँदै प्रहरीले बुधबार रिहा गरेको समाचार स्रोतको दाबी छ ।























