उर्लाबारी । मोरङसहित १५ जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि सेवन अभियान सुरु भएको छ ।
मोरङसहित झापा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, वागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा सो अभियान सुरु भएको हो । औषधि वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, धार्मिकस्थलमा बुथ बनाई अभियान सञ्चालन भइरहेको छ । यसैक्रममा उर्लाबारी नगरपालिकामा पनि बिहीबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि सेवन अभियान सुरु भएको छ । नगरपालिकामा नगर उपप्रमुख मिना खतिवडा पौडेल, प्रमुख प्रशासकिय अधिकृत अग्नीप्रसाद अधिकारीलगायतले औषधी सेवन गरेर अभियानको सुरुवात गर्नुभएको हो । उर्लाबारीका ९ वटै वडामा औषधी सेवन अभियान सुरु भएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक सुरेश खड्काले जानकारी दिनुभयो । २५ फागुनसम्म सो अभियान सञ्चालन हुने उहाँको भनाई छ ।
२ वर्ष मुनिका बालबालिका, गर्भवती महिला, सिकिस्त बिरामी तथा २४ घण्टा अगाडी ज्वरो आएका व्यक्तिले मात्र औषधि खान नमिल्ने अरू सबैले खान मिल्ने स्वास्थ्य शाखाले जनाएको छ । मोरङमा हरेक वर्ष हात्तीपाइले विरुद्धको अभियान चलाईएपनि अहिलेसम्म औषधि प्रयोगको अवस्था कमजोर देखिएको र हात्ती पाईले रोगका संक्रमितहरू पनि फेला परिरहेकाले १२ औं पटक अभियान सञ्चालन गरिएको हो ।
मोरङमा एक सय १२ जना हात्तीपाइले रोगका बिरामी जनस्वास्थ्य कार्यालयको सम्पर्कमा छन् । हात्तीपाइले रोगविरुद्धको औषधिले अहिलेसम्म कसैलाई कुनै हानि नगरेकोले निर्बाध औषधि सेवन गर्न र यसको प्रचारप्रसार गरी सम्पूर्णले औषधी सेवन गर्नुपर्ने उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अग्नीप्रसाद अधिकारीले बताउनुभएको छ ।























