उर्लाबारी । मोरङको उर्लाबारी–३ स्थित पथरी शनिश्चरे साझेदारी वन उपभोक्ता समूहको अध्यक्षमा निर्वतमान अध्यक्ष प्रकाश पौडेलको पल्लाभारी देखिएको छ ।
नेकपा माओवादी केन्द्रका नेतासमेत रहनु भएका पौडेल कांग्रेस, माओवादीसहितको गठबन्धनबाट उम्मेद्वार बन्नुभएको हो । उहाँले पथरीशनिश्चरे साझेदारी वनको हितमा काम गर्दै आउनु भएकाले यस पटक पुनः दोहो¥याउनु पर्ने अधिकांश प्रतिनिधिहरुको तर्क छ । यस पटक सबैले प्रकाश पौडेललाई मतदान गर्नु पर्ने उनीहरुको भनाई छ । आज हुने निर्वाचनमा एमालेका द्रोणबहादुर पौडेल पनि अध्यक्षको उम्मेद्वार बन्नुभएको छ । समूहको साझेदारी वन व्यवस्थापन समितिमा दलहरुले प्यानल बनाएर उम्मेद्वार उठाएका छन् । नेपाली काँग्रेस र माओवादी केन्द्रको प्यालनको माओवादीका प्रकाश पौडेल तथा नेकपा एमालेलगायत दलको प्यालनको एमालेका द्रोणबहादुर पौडेलले नेतृत्व गर्नुभएको छ । अध्यक्षका प्रत्यासी दुवै जना रतुवामाई नगरपालिका वडा नं. ६ निवासी हुनुहुन्छ । समितिको उपाध्यक्षमा सुनवर्षीका कमलकुमार मोक्तान निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै, खुला सदस्यतर्फ ७ जना निर्वाचित हुनुपर्नेमा १६ जनाको उम्मेद्वारी परेको छ । खुला सदस्यमा गणेश थापा (विनोद), वेदप्रसाद शिवाकोटी, योगेन्द्रबहादुर सुवेदी, प्रेमबहादुर याखा, प्रकाशबहादुर कार्की, गोविन्दबहादुर श्रेष्ठ, सुरेन्द्रकुमार सेर्मा, इस्तियाज आलम, लक्ष्मीप्रसाद पौडेल, गोविन्द निरौला, डिल्लीराम खतिवडा, सरणकुमार राई, महेश थापा, ठाकुरप्रसाद लिम्बू रोसन, रामराजी दास र टेकबहादुर थापा उम्मेद्वार रहनुभएको छ ।
यस्तै, तीन जना महिला सदस्यका लागि पाँच जना सन्तमाया राई (शान्ता), रामप्यारी तामाङ, अनारवती तामाङ, पवित्रा पोख्रेल र कोपिला कार्की रायमाझीको उम्मेद्वारी परेको छ । मधेसी सदस्यका लागि रन्जितकुमार साह र मनोजकुमार यादव चुनावी मैदानमा हुनुहुन्छ । दलित सदस्यका लागि कर्णबहादुर परियार र प्रमिशा ल्वगुन (विश्वकर्मा) तथा वडाबाट छनौट भएका निर्वाचित प्रतिनिधि सदस्यका लागि शेखरनाथ दाहाल र सन्तोष निरौला उम्मेद्वार रहनुभएको छ । समितिको आदिवासी जनजाति सदस्यमा गोपालप्रसाद ताजपुरिया सर्वसम्मत चयन हुनुभएको छ ।नयाँ समिति चयनका लागि समूहको कार्यालय उर्लाबारी–३ मा आज मतदान हुने निर्वाचन समितिले जनाएको छ ।























