उर्लाबारी । काठमाडौंस्थित हिमाल अस्पतालका चिकित्सकको चरम लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै चौतर्फी विरोध भएको छ ।
मोरङको पथरीशनिश्चरे–२ प्रगति टोल घर भई उपचारका क्रममा गत माघ २६ गते मृत्यु भएकी २८ महिने बालिका प्रशंसा गौतमको हिमाल अस्पतालका चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दैे न्यायका लागि मोरङको उर्लाबारीमा विरोध कार्यक्रम गरिएको हो ।
प्रशंसाको न्यायका लागि विभिन्न नारा लेखिएको प्लेकार्डसहित उर्लाबारी चौकमा भेला भएका उर्लाबारीका व्यापारी, व्यवसायी, साहित्यकार, पत्रकारहरुले लापरबाही गर्ने डाक्टर जयदेव यादवलाई कारबाहीको माग माग गरेका छन् ।
संगीतकार तथा गायक गौरभ दर्पण र आशिका भण्डारीकी छोरी प्रशंसा गौतमको गत माघ २६ गते निधन भएको र न्याय माग्दा हिमाल अस्पतालले उल्टै दवाव दिइरहेको तथा नेपाल मेडिकल एसोसिएसनले समेत पीडितहरुलाई नै पीडा दिँदै हुल हुज्जत गरेको भनेर निकालेको विज्ञप्तिको विरोध गर्दै नानी प्रशंसा गौतमको न्यायको लागि उर्लाबारीबासी सडकमा उत्रिनु परेको उर्लाबारीका टिका सिम्खडाले बताउनुभयो । ‘प्रशंसालाई न्याय दे’, ‘हिमाल हस्पिटल मुर्दाबाद’, ‘पीडितलाई दबाउन पाइँदैन’ ‘डा. जयदेव यादवलाई कारबाही गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर उर्लाबारीबासी आन्दोलनमा उत्रिएका हुन् । गत माघ २६ गते महाराजगञ्जस्थित मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी प्रशंसा गौतमको उपचार प्रक्रियामा हिमाल अस्पतालका चिकित्सकको लापरबाही रहेको भन्दै न्यायका लागि काठमाडौंको हिमाल अस्पताल अगाडि दैनिकजसो अन्दोलन भइरहेको छ । उक्त आन्दोलनको समर्थनमा उर्लाबारीबासी पनि सडकमा उत्रिएका हुन् ।























