दिलीप पोखरेल
/उर्लाबारी
वैदेशिक रोजगारिको लागि कतार स्थित ॐ करण कम्पनिमा गएका उर्लाबारी -३ थापा चोकका सुमन खड्का कम्पनिले भनेजस्तो सुविधा नदिएपछि कम्पनिबाट भागेर सनईया ३६ प्लाजा महलको एक घडी पसलमा काम गर्न थाले ।
उक्त पसलका संचालक नेपाली नै भएको नाताले सुमन सहजताका साथ पसलमा काम गर्न थाले ।तर पसल संचालक ईलामका भोजराज गुरुङ्ग सोचेजस्तो विश्वासका पात्र नभएको सुमन बताउछन् ।
सन् २०२० को मार्चमा उक्त पसलमा सेल्स ब्वाईको रुपमा कार्यरत सुमन आफु नेपाल फर्कन चाहन्थे । देश फर्कने आशाले उक्त पसलमा काम गर्दे आएका सुमनसँग राहदानी नभएको फाईदा उठाउदै संचालक गुरुङ्गले नेपाल फर्काईदिने भन्दै ९ हजार कतारी रियल (करिव ३ लाख २० हजार नेपाली रुपैयाँ) लिएको सुमनले बताए ।
‘ नेपाल फर्काईदिन्छु भनेर उनले मसँग पैसा लिए तर फर्काउन सकेनन्, उल्टै मलाई अवैधानिक भन्दै प्रहरी लगाएर सन् २०२२ सेक्टेम्बर ११मा पसलबाटै पक्राउ गराए’ सुमनले गुनासो व्यक्त गरे ।
कतारको जेलमा २ महिना बिताएपछि कतार सरकारले आफुलाई सन् २०२२ अक्टुबर २३मा नेपाल फर्काएको सुमन बताउछन् । काठमान्डौबाट घर फर्कने पैसा नभएपछि परिवारले १०हजार पठाएर आफु घर फर्किएको उनले बताए ।
अहिले नेपालमा वेरोजगार भएर बस्नुपर्ने अवस्था आएपछि सुमन उक्त पसल संचालक गुरुङ्लाई पैसा फिर्ता गर्न अनुरोध गरेको बताउछन् । तर गुरुङ्ग पैसा फिर्ता नगर्ने मनशायले हरेक पटक हप्तादिनपछि दिन्छु भन्दै टार्दे आएको सुमनले गुनासो व्यक्त गरे।
सुमन जस्तै अर्का पिडित हुन्, मंगलबारे कै विवेक अधिकारी । उनको पनि कथा उस्तै हो । गुरुङ्गकै पसलमा कार्यरत अधिकारीलाई पनि स्वोदेश फर्काईदिने भन्दै ८ हजार कतारी रियल (करिव २ लाख ८० हजार नेपाली रुपैयाँ ) लिएको तर फिर्ता नदिएको बताउछन् ।’ विदेशी भुमीमा एक नेपालीले अर्को नेपालीलाई ठगेर पैसा कमाउने प्रवृती बढ्दो छ, हामी जस्ता अरु धेरै छन् । ‘ अधिकारीले गुनासो व्यक्त गरे ‘ न भिसा लगाईदिन सके न त कतारी आईडी कार्ड बनाए, फोगटमा हामीलाई झुल्याएर गुरुङ्गले पैसा खायो।’
अहिले सुमन र विवेक दुवैजना नेपाल फर्किएर अवसरको खोजीमा छन् । उनीहरु आफ्नो पैसा फिर्ता पाए केहि सीप सिक्ने र आत्मानिर्भर बन्ने आशामा बसिरहेको बताउछन् ।























