उर्लाबारी । प्रदेश नं. १ को नाम कोशी प्रदेश राखेसँगै पहिचानवादीहरुले आन्दोलन थालेका छन् ।
लामो समयदेखि पहिचानका आधारमा प्रदेश नं. १ को नामाकरण हुनु पर्ने माग गर्दै आएका नेताहरुले प्रदेश सरकारले कोशी प्रदेश घोषणा गरेर पहिचानवादीलाई निमोठ्ने काम गरेको भन्दै कडा रुपमा प्रस्तुत गर्ने बताएका हुन् । मोरङको उर्लाबारीमा आज विरोध प्रदर्शन गर्दै पहिचानवादीहरुले प्रदेश नं. १ को नाम कोशी कुनै हालतमा स्वीकार नगर्ने बताएका छन् । उनीहरुले पहिचानसहितको प्रदेश नामाकरण नभएसम्म चरणबद्ध आन्दोलनमा होमिने र पहिचानका लागि मर्न तयार रहेको बताएका छन् । कार्यक्रममा पहचिानवादी नेता अशोक चेम्जोङ, दिलु लिङ्देन, समशेर लिम्बू, मात्रिका धिमाल, रामकुमार राईलगायतले बोल्नुभयो ।























