उर्लाबारी । कोशी प्रदेशसभा सदस्य शोभा चेम्जोङ पालुङ्वाले होलीले हामीबीच भएका असमझदारी र तीक्ततालाई समाप्त पारी सद्भाव कायम गर्न सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
आज मोरङको मिकलाजुङ–३ मा आयोजित होलि मिलन कार्यक्रममा बोल्दै उहाँले फागुपूर्णिमाजस्ता पर्वहरूले सम्पूर्ण नेपालीको बीचमा आपसी प्रेम, सद्भाव र आत्मीयता अभिवृद्धि गर्ने बताउनुभएको हो । उहाँले रङको पर्व होलीले समस्त नेपालीमा उमङ्ग थपोस् भन्ने शुभकामना दिनुभएको छ । उहाँले देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
मानव स्वास्थ्यलाई ध्यान दिइ अनुशासित एवं सभ्य भएर हर्षोल्लाससाथ होली मनाउनु पर्ने उहाँको धारणा छ । कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबीकुमार राई, उपाध्यक्ष दिनेश पौडेललगायतले बोल्नुभएको थियो ।

मिक्लाजुङ–३ नेसेलुङ पर्यटकीय क्षेत्रमा सो अवसरमा बृहत सांगितिक कार्यक्रमसमेत गरिएको थियो । याक्थुङ समाज, मिक्लाजुङ र निसेलुङ पर्यटकीय क्षेत्र संरक्षण समितिको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा गायिका सबिना योङ्हाङ लिम्बू, चुप्पी डनलगायत स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहेको थियो । उक्त कार्यक्रमको सह–आयोजकमा टाँडी युवा क्लब, सिरिजंगा युवा क्लब र युथ क्लब टाँडी रहेको थियो । कार्यक्रममा मिक्लाजुङ याक्थुङ समाजका अध्यक्ष खगेन्द्र मादेनको सभापतित्वमा भएको थियो ।























