उर्लाबारी । झापाको दमकमा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्था लि. उर्लाबारी सेवा केन्द्रमा बचतकर्ताले जम्मा गरेको रकम नै गायब भएको छ ।
उर्लाबारी वडा नं. ७ का सञ्जय बाहेतीको ३४ हजार र शोभा बाहेतीको खाताबाट । ११ हजार गायब भएको हो । आफुले चेक काटेर पैसा लिन जाँदा खातामा पैसा छैन भनेपछि बाहेती छाँयाबाट खसेझैं भएका थिए । आफुले जम्मा गरेको पैसा हराएपछि खोजी गर्दा आफ्नो किर्ते सही गरेर ३४ हजार रुपैयाँ झिकेको पाएको उनले बताए । सो बारेमा संस्थाको सेवा केन्द्रमा जानकारी गराएपछि आफ्नो खातामा उक्त रकम पुनः जम्मा भएको उनले जानकारी दिएका छन् । आफुले नझिकेको रकम एक्कासी किर्ते गरेर कसरी झिक्ने र जम्मा भइरहेको छ भनेर संस्थामा सम्पर्क गर्दा समेत गम्भिर नबनेको उनको भनाई छ । सहकारीले वचतकर्ताको रकम मनोमानी तरिकाले झिक्ने र जम्मा गर्ने काम गरेको भन्दै उनले आक्रोश पोखे । उनले दोषीलाई कानुन बमोजिम कार्वाही गर्न माग गरे । त्यस्तै, शोभाको पनि ११ हजार रुपैयाँ गायब भएको पाइएको छ । उनको पनि ११ हजार बिहीबार जम्मा गरेको पाइएको छ । सहकारीले भने यस विषयमा मुख्य कार्यालयसँग छलफल गरेर थप कदम चाल्ने जनाएको छ ।























