उर्लाबारी, रोक्ट्याक क्लब अफ उर्लाबारीले जाडो मौसमलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको ‘आहा चिसो’ अभियानलाई निरन्तरता दिएको छ। अभियानकै क्रममा सोमबार मिक्लाजुङ गाउँपालिका–१ स्थित श्री महाभारत आधारभूत विद्यालयमा ‘आहा चिसो ६.० न्यानो अभियान’ सम्पन्न भएको छ।
सो अवसरमा हिजो विद्यालयमा आयोजित एक कार्यक्रमबीच विद्यालयमा अध्ययनरत ८७ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको क्लबका अध्यक्ष अंगम बस्नेत (हेमराज)ले जानकारी दिए।
उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्याम पौडेलले रोक्ट्याक क्लबले विगतदेखि नै गर्दै आएको सामाजिक सहयोगप्रति धन्यवाद व्यक्त गर्दै सामाजिक कार्यमा युवाहरूको सक्रियता उदाहरणीय रहेको धारणा व्यक्त गरे।
यस्तै, क्लबका अध्यक्ष बस्नेतले अभियानको उद्देश्यबारे प्रकाश पार्दै बढ्दो जाडोलाई मध्यनजर गर्दै चिसो मौसममा विद्यार्थीहरूको पठन पाठनलाई सहज बनाउने लक्ष्यसहित अभियान सञ्चालन गरिएको बताए। उनले आगामी दिनमा समेत शिक्षा क्षेत्र तथा समुदाय लक्षित कार्यक्रमहरूलाई अझ सशक्त रूपमा अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, शिक्षक, क्लबका सदस्यलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।























