उर्लाबारी । ‘सहकारीमा महिला उत्थान, आर्थिक समृद्धि नै हाम्रो अभियान’ भन्ने मूल उद्घोषका साथ महिला उत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड उर्लाबारी–५ ले आफ्नो २० औँ वार्षिक साधारणसभा तथा स्थापना दिवस उत्साहपूर्वक सम्पन्न गरेको छ ।
दुई दशकअघि महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणको उद्देश्यसहित स्थापना भएको महिला उत्थान बचत तथा ऋण सहकारीले २० वर्षको यात्रामा सदस्यहरूको मन र विश्वास जित्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । पुरुष सदस्य नरहेको यस सहकारीमा हाल १ हजार ६ सय १८ जना महिला शेयर सदस्य रहेका छन् । संस्थाकी अध्यक्ष सर्सूदेवी गुरुङको सभापतित्वमा सम्पन्न साधारणसभाको प्रमुख आतिथ्य कोशी प्रदेशसभा सदस्य तथा नेकपा संसदीय दलकी प्रमुख सचेतक विद्या चाम्लिङले गर्नुभएको थियो । कार्यक्रममा सहकारीका सदस्य, सञ्चालक समिति तथा कर्मचारीलगायतको सहभागिता रहेको थियो । संस्थाकी सचिब पुजन परियारले प्रगति प्रतिवेदन, कोषाधयक्ष लिला भट्टराईले आर्थिक र लेखा संयोजक भद्रमाया निरौलाले लेखा प्रतिवेदन पेश गर्नुभएको थियो । तीनै प्रतिवेदनमाथि दोस्रो सत्रमा छलफल पश्चात पारित गरिएको छ । साधारणसभाको पहिलो सत्रमा संस्थामा उत्कृष्ट कारोबार गर्ने बचतकर्ताहरु भुवनीदेवी थापा र देविका भण्डारीलाई सम्मान गरिएको छ भने असल ऋणीहरुमा मेनुका जोशी, मुना काफ्ले, शशी राई र लक्ष्मी सापकोटा सम्मानित हुनुभयो । त्यस्तै, उत्कृष्ट बाल बचतकर्ता विष्णुमाया मगर, संगीता तामाङ सम्मानित हुनुभयो भने जेष्ठ सदस्यहरुमा छमकला सापकोटा, तुलसा देवान, थुवरी धिमाल, टिकादेवी खनाल र लाखमाया राईलाई सम्मान गरिएको छ । सम्मान कार्यक्रमले संस्था र सदस्यबीचको सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरिएको थियो । सभामा प्रस्तुत संस्थाको वार्षिक प्रतिवेदनअनुसार महिला उत्थान सहकारीको शेयर पूँजी १ करोड ११ लाख ४० हजार ६ सय रुपैयाँ रहेको छ । संस्थाको कुल आम्दानी ७१ लाख ४३ हजार ५ सय ९७ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । सोही अवधिमा कुल वार्षिक खर्च ७१ लाख ३३ हजार ७ सय १३ रुपैयाँ रहेको जनाइएको छ । खर्च कटाएर ९ हजार ८ सय ८३ रुपैयाँ बचत भएको प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक कारोबारसँगै महिला उत्थानले महिलालाई बचत, ऋण तथा विभिन्न आर्थिक गतिविधिमा सहभागी गराउँदै आत्मनिर्भर बनाउने अभियानलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ । महिलामात्रै शेयर सदस्य रहेको यस संस्थाले सहकारीको माध्यमबाट महिलाहरू पनि आर्थिक संस्था सञ्चालन, व्यवस्थापन र नेतृत्व गर्न सक्षम छन् भन्ने उदाहरण प्रस्तुत गरेको छ ।
महिला उत्थान सहकारीको २० वर्षे यात्रा आर्थिक कारोबारको यात्रा नभई महिलाको नेतृत्व र संस्थागत क्षमता विकासको यात्रासमेत भएको अध्यक्ष गुरुङले बताउनुभयो । घरपरिवार र सामाजिक भूमिकामा सीमित रहने महिलालाई आर्थिक गतिविधिसँग जोड्ने, नियमित बचत गर्ने संस्कारको विकास गर्ने तथा आवश्यकता पर्दा सहुलियतपूर्ण ऋणमार्फत आर्थिक गतिविधिमा सहभागी गराउने उद्देश्यले संस्था अघि बढेको जनाएको छ । सहकारीमा महिलामात्रै सदस्य रहनु यसको विशिष्ट पक्ष हो । सञ्चालक समिति, नेतृत्व तथा सदस्य संरचनामा महिलाकै सहभागिता रहँदै आएको संस्थाले जनाएको छ । यसले महिलामा नेतृत्व क्षमता, निर्णय क्षमता तथा आर्थिक अनुशासन विकास गर्नसमेत सहयोग पुगेको बताइएको छ । महिलाको आर्थिक सशक्तीकरणलाई केन्द्रमा राखेर अघि बढेको संस्थाले बचत तथा ऋण कारोबारसँगै महिलामा नेतृत्व, निर्णय क्षमता र आर्थिक आत्मनिर्भरता विकास गर्ने वातावरण निर्माणमा समेत योगदान पु¥याएको जनाएको छ । व्यवस्थापक सागर घलेबाहेक सबै कर्मचारी महिला रहेका छन् । सहायक व्यवस्थापक विमला मगर, बचत सहायक रमा अधिकारी, बजार प्रतिनिधिहरु सपना आचार्य र सृष्टि गुरुङ रहनुभएको छ ।























