उर्लाबारी । मोरङको उर्लाबारी–६ की ११ बर्षीया नाबालिकालाई कुटपिट गर्ने एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार सुनसरी धरान उपमहानगरपालिका वडा नं. ११ घर भई हाल उर्लाबारी वडा नं. ६ स्थित प्रमिशा राईको डेरा कोठामा बस्ने बर्ष २६ को मिशन राई भन्ने रुद्र बहादुर राईलाई प्रहरी पक्राउ गरेको हो ।
उनले स्थानीय राजधन राईको नाबालिका छोरी आईसा राईलाई कुटपिट गरी घाईते बनाएका छन् । उर्लाबारी–६ को राधिका माध्यमिक विद्यालयमा कक्षा ५ मा पढ्ने नाबालिका आईसाका बुवा राजधन रोजगारीका लागि विदेशमा रहेका छन् । विद्यालयमा माक्स लगाएर आईसा पुगेकी थिइन् । त्यसपछि शिक्षकहरुले खोजीखोजी गर्ने क्रममा निर्घात कुटपिट भएको खुलेको थियो । कुटपिटपछि नाबालिकालाई कुटेको कसैलाई भने परिणाम ठिक नहुने धम्की दिएको पाइएको छ ।
कान्छी आमासँग बस्दै आएकी आईसाको अनुहार तथा शरिरका विभिन्न स्थानहरुमा चोट लागेको छ । पीडित नावालिकालाई उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारे पठाइएको छ भने पीडक रूद्रबहादुर राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको उर्लाबारी प्रहरीले जनाएको छ । दोषीलाई कानुनी कार्वाही गर्नु पर्नेमा विद्यालयले जोड दिएको छ । यसअघिसमेत कान्छी आमाले कुट्ने गरेको बताइएको छ ।























