शान्ति पाख्रिन लामा यस क्षेमा परिचित नाम हो । मोरङ जिल्लाको लेटाङ निवासी सामाजिक अभियन्ता तथा राजनीतिज्ञ हुनुहुन्छ । लामो समयदेखि सामाजिक सेवा र जनमुखी राजनीतिमा क्रियाशील रहँदै आउनुभएकी लामा हाल श्रम संस्कृति पार्टी बाट मोरङ क्षेत्र नं. १ की प्रतिनिधिसभा सदस्य उम्मेद्वार हुनुहुन्छ । उक्त पार्टी हर्क साम्पाङको नेतृत्वमा अगाडि बढिरहेको छ ।
वि.सं. २०५६ सालमा विवाह बन्धनमा बाँधिनुभएकी शान्ति पाख्रिन लामाले जीवनमा अनेक उतारचढाव भोग्नुभयो । वि.सं. २०६७ सालमा सासु, ससुरा र श्रीमानको असामयिक निधनले उहाँलाई गहिरो पीडामा पारेको थियो । तर ती कठिन क्षणलाई साहसका साथ सामना गर्दै उहाँ समाजमा जुध्दै अघि बढ्नुभयो । यही संघर्षशीलता नै उहाँको जीवनको मुख्य परिचय बनेको छ ।
लामो समयदेखि विभिन्न संघसंस्थामा आबद्ध भएर महिला सशक्तिकरण, शिक्षा, सामाजिक न्याय र समुदाय विकासका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्नुभएको छ । समाजसेवामा पु¥याउनुभएको योगदानका कारण उहाँले दर्जनौँ सम्मान तथा पुरस्कार प्राप्त गर्नुभएको छ । स्थानीय स्तरमा उहाँलाई एक उदाहरणीय महिला नेतृका रूपमा हेरिन्छ । लामाको विकास दृष्टिकोण “प्रकृति, संस्कृति र प्रविधि” मा आधारित छ । उहाँको विश्वास छ— आजको विकासले वातावरण संरक्षण, सांस्कृतिक पहिचानको जगेर्ना र आधुनिक प्रविधिको समुचित प्रयोगलाई सँगै अघि बढाउनुपर्छ । उहाँको चुनावी नारा छ— “पुरानो नेतृत्वलाई सम्मान, नयाँ नेतृत्वलाई मतदान ।” उहाँको चुनाव चिन्ह “माटो” रहेको छ, जसलाई उहाँले श्रम, भूमि र मौलिक पहिचानको प्रतीकका रूपमा प्रस्तुत गर्नुभएको छ । संघर्षपूर्ण जीवन यात्रा, निरन्तर सामाजिक सेवा र स्पष्ट विकास दृष्टिकोणसहित लामा मोरङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा जनताको आवाज बन्ने संकल्पका साथ चुनावी मैदानमा हुनुहुन्छ । उहाँको जीवनले देखाएको छ— पीडालाई शक्ति बनाउँदै समाज रूपान्तरणको बाटो रोज्ने महिलाहरू नै परिवर्तनका सशक्त आधार हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय