हिजो मृत्यु या मुक्तिको संघर्षमा संयोगले बाँचेका कुलप्रसाद साम्बा लिम्बू (कुशल) आज मोरङ क्षेत्र नं. १ का जनताको विकास र समृद्धिको लडाइँ लडिरहनुभएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका–३ निवासी साम्बा लिम्बूको जीवनको मूल ध्येय सधैँ निस्वार्थ सेवा, देश र जनताप्रतिको प्रतिबद्धता नै हो ।
२०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्यका उम्मेद्वार हुँदा साम्बा लिम्बूले चुनावी प्रतिबद्धतामै मिक्लु खोलामा पुल निर्माण गर्ने प्रण गर्नुभएको थियो । उक्त प्रणलाई व्यवहारमा उतार्दै उहाँकै पहलमा प्रदेश सरकारमार्फत मिक्लु खोलामा पुल निर्माण सम्पन्न भयो । उर्लाबारी र मिक्लाजुङ जोड्ने यो पुल स्थानीय जनजीवन र व्यापारका लागि अत्यन्तै महत्वपूर्ण बनेको छ ।
उहाँकै अग्रसरतामा उर्लाबारीको किसान चौक हुँदै रमिते जोड्ने सडक कालोपत्रे भयो । किसान चौकदेखि रमितेसम्म सडक कालोपत्रे भएपछि मिक्लाजुङ–१ को रमिते क्षेत्र अहिले पर्यटन हबको रूपमा विकसित हुँदै गएको छ । ‘मिनी भेडेटार’ का रूपमा चिनिन थालेको रमिते क्षेत्रको विकासमा उहाँको निरन्तर पहल निर्णायक सावित भएको छ ।
त्यसैगरी, चिउरामिल–गाईघाट सडक कालोपत्रे पनि उहाँकै सक्रियतामा सम्पन्न भएको हो । मुख्यमन्त्री ग्रामीण सडक कार्यक्रमअन्तर्गत आइतबारे चोक–झारसाँदी खाँम्बेझोडा सडक, दुर्गापुरी–आम्बारी सडक लगायतका थुप्रै योजना उहाँकै पहलमा कार्यान्वयनमा आएका थिए । साम्बा लिम्बूकै पहलमा इलाका प्रहरी कार्यालय उर्लाबारीको भवन निर्माण, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, बेतिनी सिमसार संरक्षण, विद्यालय भवन निर्माण, प्राविधिक सशक्तीकरण, मन्दिर निर्माण तथा विभिन्न सामाजिक क्षेत्रमा बजेट विनियोजन गरिएको थियो । सडक, शिक्षा, स्वास्थ्य, सुरक्षा र सामाजिक विकासमा उहाँको योगदान उल्लेखनीय रहेको स्थानीयवासी बताउँछन् ।

प्रदेश सांसद रहँदासमेत उहाँले पदीय मर्यादाभन्दा बाहिर गएर कुनै कार्य नगरेको दाबी गर्नुहुन्छ । साधारण जीवनशैली अपनाउँदै सार्वजनिक बस प्रयोग गरेर निर्वाचन क्षेत्रमा खटिने उहाँलाई जनताले काम गरेर देखाउने विकासप्रेमी नेताका रूपमा चिन्ने गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका नेता साम्बा २०७४ सालमा कोशी प्रदेशसभा सदस्यमा निर्वाचित हुनु भएको थियो । त्यसपछि उहाँले “अब केही हुन्छ” भन्ने आशा मोरङ–१ का जनतामा जगाउनुभयो । पाँच वर्षको अवधिमा यस क्षेत्रमा २ अर्ब रुपैयाँभन्दा बढीको बजेट भित्र्याउँदै सडक, स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रमा परिवर्तनको आधार तयार गर्नुभयो । यही कारण जनताले उहाँलाई आज पनि काम गर्ने नेता भनेर सम्झन्छन् ।
२०७९ सालको निर्वाचनमा उहाँले पराजय भोग्नुभयो । तर, त्यो हार उहाँको यात्राको अन्त्य बनेन । बरु, जनताको बीचमै बसेर, उनीहरूका दुःख–सुखमा साथ दिँदै, निरन्तर सेवा गर्दै उहाँले देखाउनुभयो— राजनीति पदका लागि होइन, जनताका लागि हो । हारपछि पनि नथाक्ने, नभाग्ने र नआत्तिने नेताको रूपमा उहाँ अझ परिपक्व बन्नुभयो । मोरङलाई सुगम जिल्ला मानिए पनि मोरङ क्षेत्र नं. १ आज पनि ‘मोरङको कर्णाली’ जस्तै पीडामा छ । कच्चा सडक, अधुरा विकास, रोजगारीको अभाव र युवाको पलायन यहाँका पुराना समस्या हुन् । यही पीडालाई नजिकबाट बुझ्नुभएका साम्बा भन्नुहुन्छ, ‘अब परिवर्तन भाषणले होइन, कामले देखिनुपर्छ ।’
उहाँ भन्नुहुन्छ,“जनताको हली बनेर काम गर्न सक्ने जनप्रतिनिधिलाई जनताले फेरि पनि चुन्नुहुन्छ भन्ने मेरो विश्वास छ ।” निरन्तर संघर्ष, इमानदारी र विकासप्रतिको प्रतिबद्धताले कुलप्रसाद साम्बा लिम्बू आज मोरङ क्षेत्र नं. १ का आशालाग्दा र भरोसायोग्य नेता बन्नुभएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट मोरङ क्षेत्र नं. १ का उम्मेद्वार साम्बा लिम्बूलाई चुनाव चिन्ह ‘तारा’ मा मतदान गरी विजयी गराउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय