उर्लाबारी । तेह्रथुम जिल्ला ओख्रे–७ मा जन्म भई हाल मोरङ जिल्ला उर्लाबारी–७ मा स्थायी बसोबास गर्दै आउनुभएका पूर्ण वाइबा समाजसेवामा समर्पित, प्रेरणादायी र उदाहरणीय व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर निरन्तर सामाजिक भूमिकामा सक्रिय रहँदै आउनुभएका वाइबाले सामाजिक क्षेत्रमा आफ्नो विशिष्ट परिचय निर्माण गर्न सफल हुनुभएको छ ।
सामाजिक क्षेत्रमा केही न केही योगदान गर्नुपर्छ भन्ने तीव्र चाहना उहाँभित्र सधैँ जीवित देखिन्छ । उमेरले ६५ वर्ष पार गरिसक्नुभएको भए पनि सामाजिक भूमिकामा उहाँको सक्रियता, जाँगर र ऊर्जा आज पनि युवाजस्तै छ । मिलनसार, सहयोगी र सरल स्वभावका वाइबाको नेतृत्वमा चर्चित बालगायक अशोक दर्जीको घर निर्माण सम्पन्न भएको थियो । ‘मन बिनाको धन ठूलो कि, धन बिनाको मन’ भन्ने गीतमार्फत चर्चामा आएपछि देश–विदेशबाट संकलित सहयोगलाई व्यवस्थित गर्दै दमक नगरपालिका–२ मा जग्गा खरिद गरी जस्ताको छानासहितको पक्की घर निर्माण गरी उहाँकै नेतृत्वमा हस्तान्तरण गरिएको थियो ।
त्यसैगरी, बालगायक अशोक दर्जीकै घर छेउमा त्रिपाल टाँगेर कठिन जीवन बिताइरहेका बालक टिकाराम धिमाल (भुईकटहरे) का लागि पनि दमक नगरपालिका–३ मा जग्गा खरिद गरी जस्ताको छानासहितको पक्की घर निर्माण वाइबाकै नेतृत्वमा सम्पन्न भएको थियो । सो घर निर्माणका लागि उहाँले आफ्नै लगानीसहित देश–विदेशबाट सहयोग जुटाउनुभएको थियो ।
राष्ट्रलाई एक हजार विश्वप्रसिद्ध व्यक्तित्वका मूर्तिहरू निःशुल्क प्रदान गर्ने घोषणा गर्नुभएका मूर्तिकार मञ्जुल मितेरीको संग्राहलय स्थापना तथा आवश्यक मेसिनरी औजार खरिदमा समेत वाइबाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । यस्तै, उर्लाबारी–४ मा लोपोन्मुख अवस्थामा पुगेको नौमती बाजा संरक्षण अभियानमा संलग्न ज्ञानोदय नौमती बाजा समूहका ११ जना महिलालाई उहाँले पोशाक (ड्रेस) सहयोग गर्नुभएको थियो । उनीहरूको सांस्कृतिक संरक्षण प्रयासलाई प्रोत्साहन गर्ने उद्देश्यले गरिएको यो सहयोग स्थानीयस्तरमा प्रशंसित बनेको छ । ‘चाडपर्व सबैको साझा खुसी हो’ भन्ने भावनासहित वाइबाले दशैंको अवसरमा आर्थिक रूपमा कमजोर १०५ परिवारलाई दुई–दुई केजीका दरले सुंगुरको मासु वितरण गर्दै खुसी बाँड्नुभएको थियो । त्यस्तै, उर्लाबारी–२ निवासी ६५ वर्षीय पुष्पबहादुर बोहोराको दयनीय अवस्था देखेपछि उहाँलाई ह्वीलचेयर सहयोग गर्नुभएको थियो ।
यी त उहाँका सामाजिक योगदानका केही उदाहरण मात्र हुन् । विभिन्न समस्यामा परेका बिरामीहरूको उपचारमा उहाँले निजी खर्चसमेत गरेर सहयोग गर्दै आउनुभएको छ । भूकम्प, नाकाबन्दी, कोरोनाकाल, बाढी–पहिरो, दुर्घटना तथा अन्य विपद्का बेला होस् वा अन्य सामाजिक क्रियाकलापमा—वाइबा आवश्यक सहयोग लिएर तत्कालै सक्रिय भइहाल्नुहुन्छ । वाइबाकै नेतृत्वमा उर्लाबारी–५ न्यूरोडमा पेबल सडक निर्माण सम्पन्न भएको छ भने भुकुटी मार्ग कालोपत्रे आयोजनामा उपभोक्ता समितिको संयोजकका रूपमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । सडक बत्ती जडानलगायत विभिन्न पूर्वाधार विकास कार्यक्रमहरूमा पनि उहाँको सक्रिय सहभागिता रहँदै आएको छ ।
न्यानो अभियान नेपालमार्फत आर्थिक अवस्था कमजोर परिवारलाई लत्ताकपडा तथा खाद्यान्न वितरणदेखि लिएर विभिन्न मठमन्दिर, गुम्बा तथा सामाजिक संघसंस्थामा उहाँको निरन्तर सहयोग रहँदै आएको छ । रोजगारीका सिलसिलामा हङकङमा रहँदा पनि उहाँले सामाजिक सेवाबाट आफूलाई अलग राख्नुभएन । ‘उर्लाबारी परिवार हङकङ’ स्थापना गरी संस्थापक अध्यक्षका रूपमा त्यहाँ रहेका नेपालीलाई समस्या पर्दा साथ र सहयोग गर्नुका साथै नेपालका विभिन्न स्थानमा विपद् तथा बिरामीको उपचारका लागि सहयोग जुटाउनुभएको थियो । जहाँ सामाजिक काम हुन्छ, त्यहाँ राजनीति पनि स्वाभाविक रूपमा जोडिन्छ भन्ने व्यवहारिक यथार्थ वाइबाको जीवनमा लागू भएको छ । उहाँ हाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेश समितिको कोषाध्यक्ष हुनुहुन्छ । सोही पार्टीले उहाँलाई मोरङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार बनाएको छ । लामो समयदेखि सामाजिक सेवामा समर्पित वाइबा प्रतिनिधिसभा सदस्यका रूपमा रहेर अझ व्यापक जनहितका काम गर्ने चाहना राख्नुहुन्छ । सामाजिक जीवनबाट निर्माण भएको छवि र निरन्तर सक्रियताका कारण उहाँलाई यसपटक प्रतिनिधिसभा सदस्यका लागि बलियो उम्मेद्वारका रूपमा हेरिएको छ । सबैको साथ र सहयोग पाए विजयी हुनेमा उहाँ आशावादी हुनुहुन्छ । ‘हिजो पनि जनहितमै काम गर्न खटिएँ, भोलि प्रतिनिधिसभा सदस्य हुँदा पनि मेरो काम त्यही हुनेछ,’ उहाँ भन्नुहुन्छ । राजनीति पेशा होइन, सेवा हो भन्ने मान्यताका साथ इमान्दारितापूर्वक जनताको सेवक बनेर काम गर्ने दृढ अठोट उहाँले व्यक्त गर्नुभएको छ ।























