
किशोर श्रेष्ठ
परिचय : राज्यको पुनर्संरचनाको क्रममा तत्कालीन उर्लाबारी गाविसका वडा नं. ७, ८ र ९ लाई मिलाएर बनेको वडा हो, उर्लाबारी नगरपालिका वडा नं. २ । उर्लाबारीको उत्तर पश्चिममा रहेको यो वडा ८.३५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । पूर्वमा उर्लाबारीकै वडा नं. ३ र ४, उत्तर र पश्चिममा लेटाङ नगरपालिका (तत्कालीन जाँते गाविस) र पश्चिममा पथरी शनिश्चरे नगरपालिकाको बिचमा रहेको यो वडाको जनसंख्या ९ हजार १६ रहेको छ । घरधुरी सर्वेक्षण २०७६ अनुसार १९ सय ४९ घरधुरी रहेको उर्लाबारी–२ मा ४५ सय ८६ पुरुष, ४४ सय २८ महिला र २ जना तेस्रो लिंगी रहेका छन् । औषत परिवार संख्या ४.६३ रहेको यो वडाको जनघनत्व ४४२.११ रहेको छ । जम्मा घरधुरी मध्ये १९ सय २९ घरमा बिजुली बत्तीको सुविधा पुगेको छ । यहाँका अधिकांशले खाना पकाउन इन्धनको रुपमा काठ, दाउराको प्रयोग गर्छन् । १३ सय ९८ घरमा काठ, दाउराको प्रयोग गरिन्छ भने ५४० घरमा एलपी ग्याँसको प्रयोग गरेर खाना बनाउने गरेका छन् । यो वडाको १८ सय ६६ घरमा साधारण चर्पी, ६६ घरमा सेफ्टी ट्यांकी र १५ घरले सार्वजनिक शौचालयको प्रयोग गर्ने गरेका छन् ।
शैक्षिक अवस्था ः उर्लाबारी–२ मा सामुदायिक ४ र निजी १ गरी पाँच वटा विद्यालय रहेका छन् । यस क्षेत्रकै पुरानो सामुदायिक विद्यालय सुनपकुवा मावि यसै वडामा पर्छ । सुनझोडा मावि, सरस्वती आधारभूत विद्यालय, शान्ति आधारभूत विद्यालय तथा ब्रिलियन्ट बोर्डिङ स्कुलले यस वडाको शिक्षा विकासमा योगदान पु¥याउँदै आएका छन् । उपहार बाल विकास केन्द्र पनि यसै वडामा सञ्चालित छ । यहाँका बालबालिकाहरु विद्यालय शिक्षा आर्जन गर्नका लागि अन्यत्र पनि जाने गरेका छन् । अंग्रेजी माध्यममा विद्यार्थीको आकर्षण बढेपछि सुनपकुवा र सुनझोडा माविले अंग्रेजी माध्यममा पठनपाठन गराउँदै आएका छन् ।
स्वास्थ्य ः वडावासीको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै वडा कार्यालयसँगै आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । सो केन्द्रबाट स्वास्थ्य सम्बन्धी आधारभूत स्वास्थ्य जाँच साथै राज्यले निःशुल्क प्रदान गर्ने भनिएका औषधी वितरण तथा परामर्श सेवा उपलब्ध गराइएको छ । आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माणको प्रक्रिया समेत अघि बढिसकेको छ । वडावासीलाई थप स्वास्थ्य समस्या भए उर्लाबारी–३ को मदन भण्डारी अस्पताल तथा अन्य अस्पताल जाने गरेका छन् ।
धार्मिक स्थल ः यस वडामा विभिन्न धार्मिक स्थलहरु छन् । जलेश्वर शिवालय मन्दिर, राधाकृष्ण मन्दिर, जलपादेवी मन्दिर, सूर्यनारायण मन्दिर, शिवालय मन्दिर, बौद्ध गुम्बालगायत धार्मिक स्थलहरु छन् । धिमाल जातिको ८ वटा महाराजथान पनि यही वडामा रहेका छन् ।
पर्यटनको प्रचुर सम्भावना ः पूर्व क्षेत्रमा चर्चामा रहेको वेतिनी सिमसारसहित उर्लाबारीका सबै चार वटै सिमसार यसै वडामा पर्दछन् । वेतिनी सामुदायिक वनमा पर्ने वेतिनी सिमसारमा दैनिक सयौं आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ । पर्यटन प्रवद्र्धनका लागि उर्लाबारी नगरपालिका, प्रदेश सरकारले सहयोग पु¥याएपछि अहिले बाल उद्यानसहित सिमसार क्षेत्रलाई आकर्षक बनाइएको छ । यस्तै, बाँसेचौरी सिमसार, बुढाठाकुर सिमसार र लाम्पाते सिमसार पनि यसै वडामा पर्छन् । ती सिमसार विभिन्न प्रजातिका चराचुरुङ्गीको बास स्थान हो । यी सिमसारहरुलाई व्यवस्थित बनाएर पर्यटकीय स्थल बनाउने हो भने आम्दानीको राम्रो स्रोत हुने देखिएको छ ।
सामुदायिक वन ः उर्लाबारीका अधिकांश सामुदायिक वन यो वडामा पर्छन् । उर्लाबारीका ८ वटा सामुदायिक वन मध्ये पाँच वडा वेतिनी, सुन्झोडा, सृजना, सालबारी, सुनकोशी सामुदायिक वन यहाँ छन् । सामुदायिक वनले उपभोक्ताको जीवनस्तर उकास्नका लागि ठूलो योगदान पु¥याउँदै आएका छन् । साथै, पशुपालनमा पनि टेवा पुगेको छ । यी सामुदायिक वनमा विभिन्न प्रजातिका जंगली जनावरका साथै बोटविरुवाहरु पाइन्छन् ।
जात, धर्म, भाषा, पेशा ः जातका आधारमा उर्लाबारी वडा नं. २ मा सबैभन्दा बढी क्षेत्री ३१ सय ६२ को बसोबास रहेको छ । यस्तै, धिमाल १५ सय ८५, राई ७१०, नेवार ६६८, ब्राह्मण ६१६, लिम्बू ५५३ लगायत विभिन्न जातजातिका मानिस छन् । यहाँ हिन्दू धर्म मान्ने ६८ सय ९२, प्रकृति धर्म मान्ने ११ सय २४, किराँत ५६१, बौद्ध ३०३, इसाई १२५ लगायत अन्य धर्म मान्नेहरु पनि रहेका छन् । नेपाली मातृभाषीको संख्या ५९ सय १८, धिमाल मातृभाषी १२ सय ६, राई मातृभाषी ५१६, नेवार मातृभाषी ३९४, लिम्बू मातृभाषी ३९९ जना लगायत अन्य भाषा बोल्नेहरु पनि छन् । यो वडाका अधिकांशको पेशा कृषि नै हो । सर्वेक्षण अनुसार वैदेशिक रोजगारीमा यो वडाका ९४५ जना गएका छन् । यस्तै, २४२ ले नोकरी र ३७२ जनाले ज्यालादारीमा काम गर्ने गरेका छन् ।
अपाङ्गता ः विभिन्न शारीरिक तथा मानसिक अपाङ्गता हेर्दा यो वडामा कुल १ सय जना विभिन्न किसिमका शारीरिक क्षमता भएका व्यक्तिहरु छन् । तथ्यांक अनुसार ५७ जना शारीरिक रुपमा अपाङ्गता छन् भने १५ जना सुस्त मनस्थिति, ११ जना बहुअपाङ्गता, ६ जना दीर्घ रोगी, ६ जना कान नसुन्ने र ३ जना दृष्टिविहीन रहेका छन् ।
समस्या ः यस वडाको मूख्य समस्या भनेको वर्षायाममा आउने बाढीले निम्त्याउने विपद् हो । तेली र सुन्झोडा खोलाले वर्षेनि वर्षायाममा ठूलो क्षति पु¥याउने गर्छन् । खेतीयोग्य जमिन कटान गर्ने, वन जंगल क्षति गर्ने, बाटोमा क्षति पु¥याउने गर्दा जनजीवन कष्टकर हुने गर्छ । ती खोला तटबन्धनका लागि नगर, प्रदेश र संघमा योजना प्रस्ताव गरेपनि अहिलेसम्म बजेट हात लाग्न सकेको छैन । उर्लाबारी–२ को अर्को समस्या हात्तीको रहेको छ । सामुदायिक वनको जंगलबाट बेलाबखतमा गाउँ पस्ने गरेका हात्तीले उपद्रो मच्चाउने गरेका छन् । जसले गर्दा वडावासीको ठूलो भौतिक क्षति हुने गरेको छ ।
जनप्रतिनिधि आएपछिको विकास ः २०७४ असारमा भएको स्थानीय तह निर्वाचनबाट उर्लाबारी २ को वडाध्यक्षमा राजन कँडेल निर्वाचित हुनुभयो । यस्तै, वडा सदस्यमा महिला बानु सुब्बा, दलित महिला फुलसरी विक, सदस्यहरु बाबुराम श्रेष्ठ र गोविन्दप्रसाद चौलागाई निर्वाचित हुनुभयो । जनप्रतिनिधि आएपछि यो वडाको विकासमा धेरै काम भएका छन् । नगरपालिकाबाट प्रत्येक वर्ष एक करोडको हाराहारीमा वडाको बजेट विनियोजन भएर काम भएको छ । यस्तै नगर स्तरीय योजना, प्रदेश र संघीय योजनाबाट पनि केही काम भएका छन् । जनप्रतिनिधि निर्वाचित हुनुअघि यस वडाको सडक ग्राभेलसम्म थिएन । तर, यो चार वर्षको अवधिमा अधिकांश बाटो ग्राभेल भएका छन् भने आधा बाटोमा ड्रेन निर्माण गरिएको छ । १५ वटा कल्भर्ट, दुई वटा छोटा पुल बनेका छन् । यो वडामा अहिलेसम्म कालोपत्रे भएको छैन तर चालु आर्थिक वर्षमा केर्खाली चौकबाट वडा कार्यालय जाने बाटो र त्रिवेणी चौकबाट सिमसार जाने बाटो कालोपत्रे गर्ने योजना रहेको छ ।
वडाध्यक्ष भन्छन्, म के कम ?
गत स्थानीय तह निर्वाचनका बेला वडाध्यक्षको उम्मेद्वार रहेका उर्लाबारी–२ का राजन कँडेलका विषयमा धेरैले कुरा काट्न भ्याए ‘अपाङ्गता भएकाले वडाध्यक्षको टिकट पायो । जित्दैन । जितेपनि केही गर्न सक्ने होइन ।’ अपाङ्गता भएका कँडेल यस्ता भनाईले कतिपनि हरेश खाएनन्, बरू ‘इख बिनाको मान्छे र बिष विनाको सर्प काम दिँदैन’ भने झै उनी जसरी पनि वडाध्यक्षमा जित्ने र उदाहरणीय वडाध्यक्ष बनेर देखाउने अठोट लिएर निर्वाचनमा होमिए । निर्वाचनमा उनी सो वडाको वडाध्यक्ष विजयी भए त्यो पनि उल्लेख्य मतान्तरका साथ । कँडेलले वडाध्यक्षका प्रत्यासी हेमचन्द्र थापाभन्दा ३ सय ४६ मत बढी ल्याएर वडाको वागडोर सम्हाल्ने अवसर पाए । ११ सय ९८ मत प्राप्त गरेर निर्वाचित भएदेखि नै कँडेलले उक्त अवसरलाई भरपुर सदुपयोग गर्दै आएका छन् ।
११ वर्षअघि सवारी दुर्घटनामा परेर दायाँ खुट्टा गुमाएका वडाध्यक्ष कँडेल वैशाखीको सहारामा हिँड्छन् । खुट्टा गुमाएपनि काममा सहयोग गर्ने सयौं काँध र खुट्टाहरू उनले कमाएका छन् । वडावासीको सुख, दुःखमा रातदिन नभनी खटेका छन् । हरेक जनप्रतिनिधिको काम जनताको सेवा गर्नु नै हो, जनताको काम मै खटिनु हो । तर, कँडेल पृथक यो मानेमा छन् कि शारीरिक अशक्तता हुँदा पनि उनी अन्य वडाध्यक्षभन्दा कमजोर आफूलाई ठान्दैनन् । उनी भन्छन्, ‘दौडबाहेक अन्य सबै कार्यमा अन्य वडाध्यक्षभन्दा कम छुइँन ।’
चुनावताका अशक्तताको विषय उठाएर कुरा काट्नेहरू अहिले वडाध्यक्ष कँडेलको प्रशंसा गर्न थालेका छन् । उनको लोकप्रियताको तारिफ गर्छन् । पर्यटन, कृषि, स्वास्थ्य, शिक्षालगायतको विकासमा वडाध्यक्ष कँडेलको सक्रियता अतुलनीय रहेको छ । शारीरिक अशक्तता भएर के भयो र ? अहोरात्र खट्ने वडाध्यक्ष पाउँदा वडावासी दंग छन् । वडाध्यक्ष कँडेलकै पहलमा उर्लाबारीमै पहिलो पटक वडा कार्यालय शिलान्यास भएर निर्माण कार्य सुचारु भएको छ । साथै, शहरी स्वास्थ्य केन्द्रको भवन पनि निर्माण सुरु भएको छ । प्राकृतिक रुपमा सुन्दर तर विकासमा पछि परेको सो वडाको विकासका लागि धेरै योजना अघि सारेको वडाध्यक्ष कँडेल बताउँछन् । आफ्नो कार्यकालमा पछिसम्मका लागि सम्झनायोग्य कार्य गर्ने उनले बताए । कँडेलको दैनिकी बिहान साढे ४ बजेदेखि सुरु हुन्छ । बिहान उठ्ने बित्तिकै योगा गर्ने उनी चिया खाएर गाउँ निस्कन्छन् । बिहान बेलुका बैशाखीकै सहारामा हिँडेरै वा स्कुटरमा तथा कार्यालय समयमा सहयोगी लिएर जनताका काममा हिँड्ने गरेको उनले बताए । समयमै कार्यालय पुग्ने, वडावासीको समस्या, गुनासा सुन्ने र समाधानको पहल गर्ने, कार्यालय समयपछि पनि जनताकै काममा खटेर बेलुका अबेर मात्र घर पुग्ने गरेका छन् ।
‘अपाङ्गता भएका मानिसले पनि अरुभन्दा राम्रो काम गर्न सक्छन् भन्ने उदाहरण दिन चाहेको छु’ उनले भने, ‘दृढ इच्छाशक्ति भए सामाजिक काममा अपाङ्गताले रोक्दैन ।’ जनताको काममा अहोरात्र खटेपनि कतिपयको खुट्टा तान्ने प्रवृत्ति यथावत् रहेको उनको अनुभव छ । उनले भने, ‘मैले कसैको अहित चिताउने काम गरेको छैन, यदि त्यस्तो गरेको भए कारबाही भोग्न तयार छु ।’ नेपाली काँग्रेसबाट निर्वाचित ४० वर्षीय वडाध्यक्ष कँडेल अपाङ्गता भएका व्यक्तिले त राम्रो काम गर्छ भने सपाङ्गता भएकाले अझ राम्रो काम गर्नुपर्ने बताउँछन् ।
वडा कार्यालय बन्दै ः उर्लाबारीमै पहिलो पटक वडा नं. २ को वडा कार्यालय भवन बन्न सुरु भएको हो । चालु आर्थिक वर्षमा नगरपालिकाले वडा नं. १, २ र ३ मा वडा कार्यालय बनाउन बजेट छुट्याएको थियो । यो वडामा भवन शिलान्यास भइ काम सुरु भइसकेको छ । नगरपालिकाले १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेपनि ९७ लाखको लागतमा पाथीभरा कन्ट्रक्सन इटहरीले ठेक्का लिएर वडा कार्यालय निर्माण सुरु गरेको हो । कटहरेमा वडा कार्यालय भवन निर्माणका लागि स्थानीय उदयबहादुर कार्की र भुपाल रायले पाँच कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका थिए । सोही जग्गामा ९ वटा कोठा, सभाहलसहित दुई तले भवन निर्माण भइरहेको छ ।
अन्त्यमा, पर्यटनको प्रचुर सम्भावना हुँदा हुँदै पनि विकासमा पछि परेको यो वडाको विकासका लागि सबैका ध्यान जानु पर्ने देखिएको छ । यहाँका चार वटै सिमसारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकियो भने नगरपालिकाको दीर्घकालीन आम्दानीको स्रोत बन्ने निश्चित छ । खोला तटबन्धन, जंगली हात्तीको समस्या समाधानका विषयमा पनि चासो लिएर अघि बढ्न आवश्यक देखिन्छ ।
(उर्लाबारी नगरपालिकाको सहयोगमा सञ्चार क्लब नेपालले प्रदान गरेको लेखनबृत्ति )