काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर समूह अल्पमतमा परेपछि विभिन्न बखेडा शुरु गरेको छ ।

सरकारमा सहभागी भएपछि ठाकुर पार्टीभित्र झन् अल्पमतमा परेका छन् । ठाकुरले जसपालाई अनौपचारिक रुपमा पार्टी विभाजन गरेर नेता राजेन्द्र महतोको नेतृत्वमा १० जनालाई मन्त्री बनाएपछि संकट थपिएको हो ।

उता, निर्वाचन आयोगले जसपाका अध्यक्ष ठाकुर समूहलाई केन्द्रीय पदाधिकारीको हस्ताक्षर बुझाउन एक साताको समय दिएको छ । तोकिएका समयभित्र ठाकुरले आयोगमा केन्द्रीय पदाधिकारीहरूको हस्ताक्षर बुझाउन नसकेपछि एक साताको समय माग गरेका हुन् । आयोगले ठाकुर समूहलाई समय पनि दिएको छ ।

ठाकुर समूह र सरकारको विपक्षमा रहेको उपेन्द्र यादव समूहले एक अर्कालाई कारबाही गर्दै आधिकारिकतामा विवाद देखिएको थियो । प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्ने वा नगर्ने विषयमा जसपाभित्र विवाद भएको थियो ।

जेठ १८ गते अध्यक्ष यादवले ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललाई दलबाट निस्कासन गरी दर्ता कितावमा विवरण अद्यावधिक गराउन आयोगलाई पत्र लेखेका थिए ।

सोही दिन अर्का अध्यक्ष ठाकुरले पनि अध्यक्ष यादवलाई हटाइएको भन्दै दर्ता किताबमा अभिलेखीकरणका लागि आयोगमा पत्र लेखेका थिए । आयोगले दाबी नपुगेको भन्दै दुबै पक्षलाई आवश्यक कागजपत्रहरू पेश गर्न आदेश दिएको थियो ।

आयोगले तोकेको समयभित्र अध्यक्ष यादवलले कागजपत्र बुझाइसकेका छन् । ठाकुर समूह जसपाभित्र अल्पमतमा रहेका कारण तोकिएको समयभित्र हस्ताक्षरसहित आवश्यक कागजपत्र नबुझाएर कोरोनाको बहाना बनाएर एक साताको समय माग गरेको छ ।

ठाकुर–महतोले हस्ताक्षर संकलनका लागि प्रयास गरिरहेका छन् । तर, उनीहरू सफल हुन सकेका छैनन् । ५१ सदस्यीय केन्द्रीय कार्यकारी समितिमा ठाकुर–महतोसँग १५ जना मात्रै छन् । केन्द्रीय समितिमा पनि ठाकुर–महतो अल्पमतमा छन् ।

उपेन्द्र यादवले पार्टी कब्जा गरेपछि ठाकुर–महतो जिल परेका छन् । बहुमत पुग्न सकेन भने ठाकुर–महतोले अलग पार्टी दर्ता गरेर जानुभन्दा अर्को बिकल्प छैन । अहिलेसम्मको अवस्था हेर्ने हो भने उपेन्द्र यादव समूहले आधिकारिकता पाउने सम्भावना प्रवल रहेको दुबै पक्षका नेताहरूको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय