उर्लाबारी । उर्लाबारी नगरपालिकाले शनिबार वृक्षारोपण अभियानमा सक्रियता देखाएको छ। नगरपालिकाले उर्लाबारी–४ स्थित बक्राहा विष्णु गङ्गाघाट परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
नगरपालिकाको पहलमा सम्पन्न कार्यक्रममा विभिन्न १५ जातका जम्मा १११ वटा विरुवाहरू रोपिएको जानकारी नगरप्रमुख गंगाप्रसाद खरेलले दिएका छन् । उनले अहिलेको मौसम विरुवा रोप्न अत्यन्त उपयुक्त रहेको बताउँदै वृक्षारोपण मात्रै नभई यसको संरक्षण पनि अभियानकै रूपमा अघि बढाउने बताएका छन्।
नगरपालिकाले रोपेका बिरुवाहरूमा फलफूलका साथै जडीबुटी,कपुर ,चन्दन, सिरिस, स्वामी, बर, पिपल , निमलगायत
जातका बिरुवाहरू समावेश छन्। कार्यक्रमका लागि आवश्यक बिरुवाहरू सेक्टर वन कार्यालय मङ्गलबारेबाट ल्याइएको थियो।
वृक्षारोपण कार्यक्रममा नगरप्रमुख खरेलसहित उपप्रमुख मीना खतिवडा पौडेल, वडा अध्यक्षहरू, सेक्टर वन कार्यालय प्रमुख एवं कर्मचारी, नगर कार्यपालिकाका अन्य पदाधिकारीहरू, टोल विकास संस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नगर प्रहरी, घाट व्यवस्थापन समितिका पदाधिकारी, सामुदायिक वनका प्रतिनिधि, निजी वनका प्रतिनिधि, साझेदारी वनका प्रतिनिधि, सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय बुद्धिजीवी तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
नगरप्रमुख खरेलले यस्ता कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गरिने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय