उर्लाबारी । मोरङ क्षेत्र नं. १ मा २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशतर्फ दुबै वाम गठबन्धनले जितेको थियो । यस पटक गठबन्धन छिनविन्न मात्र भएको छैन, एमालेबाट बरिष्ठ नेता माधब नेपालसहितको समूह बाहिरिएको छ ।
नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भई स्थानीय तहको निर्वाचनमा भाग लिइसकेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चाबीच चुनाबी गठबन्धन गर्ने निर्णय भइसकेको छ । गठबन्धन दलहरुबीच सिटको टुंगो लागेको छैन । तर, पनि मोरङ क्षेत्र नं. १ मा प्रतिनिधिसभातर्फको निर्वाचन क्षेत्रमा कांग्रेसका डिगबहादुर लिम्बू उठ्ने पक्कापक्की जस्तै छ । नेपाली कांग्रेस मोरङका जिल्ला सभापतिसमेत रहनुभएका लिम्बू गठबन्धनको तर्फबाट उम्मेद्वार निश्चित रहेको जानकार स्रोत बताउँछ । २०७४ सालको निर्वाचनमा वाम गठबन्धनमा एमालेकोतर्फबाट उम्मेद्वार बन्नु भएका घनश्याम खतिवडासँग लिम्बू पराजित बन्नुभयो । २०७० सालको निर्वाचनमा भने लिम्बूले वर्तमान सांसद घनश्याम खतिवडा र माओवादीका प्रभावशाली नेता बर्षमान पुनलाई पराजित गर्नुभएको थियो । यस पटक खतिवडा सम्भवतः उम्मेद्वार बन्ने सम्भावना कम छ । त्यसैकारण लिम्बू र खतिवडाको तेस्रो पटक चुनाबी प्रतिष्पर्धा हुने सम्भावना कम छ । एमालेबाट डा. शिवमाया तुम्बाहाम्फेसँग लिम्बूको प्रतिष्पर्धा हुने सम्भावना छ । यस पटक मोरङ क्षेत्र नं. १ मा पाँच दलीय गठबन्धन मजबुद देखिएको छ ।
यसैगरी मोरङ क्षेत्र नं. १ (क) मा गठबन्धनतर्फबाट माओवादी नेता कुलप्रसाद साम्बा लिम्बू (कुशल) उम्मेद्वार बन्ने पक्कापक्की छ । माओवादीका केन्द्रीय सदस्यसमेत रहनुभएका लिम्बू जनता भेटघाट कार्यक्रम गर्दै सुझाव लिइरहनुभएको छ । २०७४ सालको निर्वाचनमा विजयी भएपछि मोरङ क्षेत्र नं. १ (क) मा १ अर्बभन्दा बढी रकम क्षेत्रको विकासमा ल्याउनु भएको छ । जसको कारण अधिकांशले यस पटक पुनः लिम्बूलाई उम्मेद्वार बनेर थप विकासको मुहान फुटाउन आग्रह गरिरहेका छन् । सरल स्वभाव भएका लिम्बूले आफ्नो कार्यकालमा प्रदेश मन्त्रीको भन्दा धेरै योजना ल्याउन सफल बन्नुभयो । प्राय जसो सबै पार्टीका नेता तथा कार्यकर्ताहरुले सांसद लिम्बूको कामप्रति प्रशंसा गरेको पाइन्छ ।
त्यस्तै, मोरङ क्षेत्र नं. १ (ख) बाट नेकपा एकीकृत समाजवादीका उपेन्द्र घिमिरे उम्मेद्वार बन्ने निश्चित छ । गठबन्धनबाट प्रदेश नं. १ सरकारका सञ्चार तथा यातायात मन्त्री घिमिरे यस पटक पुनः प्रदेशसभा सदस्यको उम्मेद्वार बन्दै हुनुहुन्छ । जनता समाजवादी पार्टीले भने यो क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेद्वार पाउने सम्भावना छैन ।























