उर्लाबारी । मोरङको उर्लाबारी क्षेत्रमा सामाजिक तथा शैक्षिक क्षेत्रमा चिनिने नाम हो—लोलिम पोमु लिम्बू । उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रूपमा देखाएको सक्रियता र परिणाममुखी नेतृत्वले उहाँलाई एक सफल शैक्षिक अभियन्ताको रूपमा स्थापित गरेको छ । अधिवक्तासमेत रहनुभएका लिम्बू अरनिको हस्पिटल प्रा.लि. का अध्यक्षसमेत हुनुहुन्छ, जसले उहाँको बहुआयामिक नेतृत्व क्षमतालाई झल्काउँछ । स्थानीय समुदायसँग गहिरो सम्बन्ध राख्नुहुने लिम्बू बाल्यकालदेखि नै सामाजिक गतिविधिमा रुचि राख्ने व्यक्ति हुनुहुन्छ । समाजप्रति उत्तरदायित्व बोध गर्ने स्वभावका कारण उहाँले शिक्षा क्षेत्रलाई परिवर्तनको प्रमुख आधारका रूपमा हेर्नुभयो । सामुदायिक विद्यालयको सुधार सम्भव छ भन्ने दृढ विश्वाससहित उहाँ नेतृत्वमा आउनुभएको थियो ।
राधिका माध्यमिक विद्यालयको व्यवस्थापन सम्हाल्दै उहाँले स्पष्ट लक्ष्य तय गर्नुभयो—विद्यालयलाई गुणस्तरीय, अनुशासित र विश्वासिलो बनाउने । नेतृत्व सम्हाल्नेबित्तिकै उहाँले व्यवस्थापन सुधार, नियमित अनुगमन र समन्वयलाई प्राथमिकतामा राख्नुभयो । उहाँको कार्यशैली परम्परागतभन्दा फरक थियो; केवल निर्णय गर्ने होइन, कार्यान्वयनको प्रत्येक चरणमा प्रत्यक्ष संलग्न हुने, शिक्षक, अभिभावक र सरोकारवालासँग निरन्तर संवाद गर्ने उहाँको विशेषता बन्यो । उहाँको नेतृत्वमा विद्यालयले छोटो अवधिमै उल्लेखनीय फड्को मा¥यो । भौतिक पूर्वाधार निर्माणदेखि शैक्षिक गुणस्तर सुधारसम्मका कामहरू व्यवस्थित रूपमा अघि बढे । सरस्वती मन्दिर निर्माण, आधुनिक कक्षाकोठा, सीसीटीभी जडान, स्मार्टबोर्ड प्रयोग, कार्यालय भवन निर्माण जस्ता भौतिक सुधार भए भने अंग्रेजी माध्यम विस्तार, नतिजा विश्लेषण प्रणाली, गणित प्रयोगशाला स्थापना जस्ता शैक्षिक पहलले विद्यालयको स्तर उकास्यो । उहाँको कार्यकालमा विद्यालयले नगरस्तरीय परीक्षा तथा खेलकुद प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्दै आफ्नो छवि थप सुदृढ बनायो । व्यवस्थापनमा पारदर्शिता र सामूहिक सहभागितालाई विशेष महत्व दिँदै विभिन्न समिति तथा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गर्ने र समस्या देखिए तत्काल समाधान गर्ने प्रणाली विकास गर्नुभयो ।
“विद्यालय सुधार कुनै एक व्यक्तिको काम होइन, सामूहिक प्रयासको परिणाम हो,” भन्ने उहाँको विश्वासले विद्यालयमा सहकार्य र भरोसाको वातावरण निर्माण ग¥यो। यही सोचले शिक्षक, अभिभावक र समुदायबीच सुदृढ सम्बन्ध कायम हुन पुग्यो । लिम्बू केवल प्रशासक मात्र होइनन्, प्रेरणादायी व्यक्तित्व पनि हुनुहुन्छ । उहाँले युवाहरूलाई समाजसेवामा लाग्न निरन्तर प्रेरित गर्दै आउनुभएको छ । शिक्षा क्षेत्रमा उहाँले गरेको योगदान अन्य विद्यालयहरूका लागि पनि उदाहरणीय बनेको छ । उहाँको दुई वर्षे कार्यकाल चैत १९ गतेबाट औपचारिक रूपमा समाप्त भएपनि उहाँले सुरु गरेको सुधार अभियान निरन्तर अघि बढ्ने विश्वास गरिएको छ ।
कार्यकालको अन्त्यसम्म विद्यालयप्रति अभिभावकको बढ्दो आकर्षण र २५०० भन्दा बढी विद्यार्थीको उपस्थिति नै उहाँको सफलताको सबैभन्दा ठोस प्रमाण बनेको छ । राजनीतिक रूपमा पनि सक्रिय लिम्बू नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ (१) का उपसभापति तथा प्रभावशाली युवा नेताका रूपमा परिचित हुनुहुन्छ । तर, उहाँको विशेषता भनेको पार्टीभन्दा माथि उठेर समाज र शिक्षाका लागि काम गर्ने प्रवृत्ति हो, जसले उहाँलाई सबै वर्गका मानिसहरूबीच प्रिय बनाएको छ । लिम्बूको जीवनी केवल व्यक्तिगत उपलब्धिको कथा होइन; यो दूरदृष्टि, समर्पण र सहकार्यले समाजमा कसरी सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने प्रेरणादायी उदाहरण हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय