काठमाडौं । कोभिडका कारण लामो समयदेखि विद्यालय बन्द भएपछि अनलाईन कक्षा प्रभावकारी बनाउन नेपाल टेलिकमले विद्यार्थीलक्षित सेवा प्रदान गर्ने भएको छ ।

नेपाल टेलिकमले शिक्षा मन्त्रालयसँगको सहकार्यमा विद्यार्थीलाई मासिक ९९ रुपैयाँमा असीमित फोन र इन्टरनेट सेवाको सुविधा प्रदान गर्ने भएको हो ।

विद्यार्थीहरुको अध्ययनलाई लक्षित गर्दै ल्याउन लागिएको यो योजनाले अनलाइन कक्षाको लागत सस्तो हुने विश्वास लिइएको छ । शिक्षक, विद्यार्थी र अभिभावकलाई कम्पनीको क्लोज यूजर (सीयूजी) मा आबद्ध गरी मासिक जम्मा ९९ रुपैयाँमा नजिकको समूहभित्र असीमित कुराकानी गर्न सकिने व्यवस्था मिलाउन लागेको नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिनुभएको छ ।

यस्तै भ्वाइस सेवासहित शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइट चलाउन ५ जिबी डाटा सेवा र बल्क एसएमएस सुविधासमेत उपलब्ध गराइने भएको छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइट (www.learning.cehrd.edu.np) मा कक्षा १ देखि १० सम्मको सबै पाठ्यक्रम र पाठ्यसामग्रीहरु उपलब्ध हुनेछ । मासिक ९९ रुपैयाँमा भ्याट, टीएससी, ओटी कर भने अतिरिक्त लाग्ने नेपाल टेलिकमले जनाएको छ ।

कर्पोरेट युजर ग्रुप बनाउने प्रयोजनका लागि सार्वजनिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी भएका प्रत्येक घरधुरीलाई एउटा सिमकार्ड उपलब्ध गराइनेछ । यो सेवा वापत टेलिकमलाई पुग्ने घाटा नेपाल सरकारले व्यहोर्ने भएको छ । नेपाल सरकार, प्रयोगकर्ता र सेवा प्रदायकले साझेदारीमा लागत व्यहोर्ने व्यवस्था गरिएको नेपाल टेलिकमले जनाएको छ ।

निःशुल्क सीमकार्डका लागि शिक्षक र विद्यार्थीको नागरिकता वा परिचय पत्रको फोटोकपी, अभिभावकको नागरिकताको फोटोकपी र एकप्रति फोटो उपलब्ध हुनुपर्ने व्यवस्था गरिएको छ । ‘पाठशाला सीयूजी सिम’ नाम दिइएको सीम विद्यालयले रितपूर्वक भरिएको फाराममा स्थानीय निकायबाट सिफारिश लिई नजिकको नेपाल दुरसञ्चार कम्पनीको कार्यालयबाट एकमुष्ट पनि लिन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय