उर्लाबारी — मोरङ क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी बढ्दै जाँदा नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार कुशल लिम्बू गाउँ–गाउँ पुगिरहेका छन्। उर्लाबारीदेखि मिक्लाजुङ, लेटाङ हुँदै केराबारीसम्म फैलिएको उनको अभियान मात्र भोट माग्न सीमित छैन, बरु स्थानीय समस्या सुन्ने, छलफल गर्ने र समाधानका खाका प्रस्तुत गर्ने प्रयासका रूपमा देखिन्छ।
घरदैलो अभियानका क्रममा लिम्बूले मतदातासँग हात मिलाउँदै एउटा कुरा दोहोर्याइरहेका छन्, म नेता भएर होइन, सेवक भएर काम गर्न चाहन्छु। यही सन्देश उनका भाषण, भेटघाट र अन्तरक्रियामा निरन्तर सुनिन्छ। उनी मतदातालाई एकपटक आफूलाई अवसर दिन आग्रह गर्दै चुनाव चिन्ह ‘तारा’मा मतदान गर्न अनुरोध गर्छन्।
प्रदेशसभा सदस्यका रूपमा काम गरेको अनुभव सुनाउँदै लिम्बू आफूलाई ‘दलको सीमामा बाँधिएको नेता होइन’ भनेर प्रस्तुत गर्छन्। उनका अनुसार, प्रदेशसभामा रहँदा उनले दलभन्दा माथि उठेर स्थानीय विकास, नागरिकका दैनिकीसँग जोडिएका समस्या र जनहितका सवालमा काम गरे।
अब प्रतिनिधिसभामा पुगेर अझ प्रभावकारी ढंगले आवाज उठाउन सक्छु,उनी भन्छन्।
उनका समर्थकहरू पनि यही तर्क अघि सार्छन्। उनीहरूका अनुसार लिम्बूको राजनीतिक छवि ‘पहुँचयोग्य नेता’ को छ, जसले फोन उठाउँछ, भेट्न गाह्रो मान्दैन र समस्या सुन्ने धैर्य राख्छ।
लिम्बू आफ्नो अभियानमा राजनीतिक मुद्दालाई पनि जोड्न छुटाउँदैनन्। उनी वर्तमान संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुत बनाउने र प्रतिगामी प्रयासलाई परास्त गर्ने प्रतिबद्धता व्यक्त गर्छन्।
उनका अनुसार राजनीति सत्ता प्राप्तिको खेल होइन, परिवर्तनको माध्यम र जनसेवाको साधन हो।
गलत प्रवृत्तिविरुद्ध संघर्ष गर्नुपर्छ, गतिशील नेतृत्व चाहिन्छ,” उनी भन्छन्, जनकेन्द्रित आन्दोलनलाई अझ सशक्त बनाउनु आजको आवश्यकता हो।
मोरङ–१ का धेरै मतदाताको साझा चिन्ता रोजगारी हो। यही मुद्दालाई केन्द्रमा राख्दै लिम्बूले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने योजना अघि सारेका छन्।
उनका अनुसार, आफ्नै लगानी र आम्दानीमा आधारित कार्यक्रम विस्तार गरेर आर्थिक गतिविधि बढाउन सकिन्छ।
कृषि, साना उद्योग, पर्यटन र सेवा क्षेत्रलाई जोडेर युवालाई गाउँमै रोक्ने उनको तर्क छ। विदेश जानु बाध्यता होइन, विकल्प हुनुपर्छ, उनी भन्छन्।
लिम्बूको घोषणापत्रमा पर्यटन प्रमुख प्राथमिकतामध्ये एक हो। मोरङ क्षेत्र नम्बर १ लाई पर्यटन हबका रूपमा विकास गर्ने लक्ष्यसहित उनले रमिते डाँडा, जेफाले डाँडा, राजारानी पोखरी (लेटाङ), कुईनेटार, बेतिनी सिमसार, प्रगतिशील सिमसार, बाँसेचौरी सिमसार, लामपाते सिमसार र चुलिपोखरीलगायत स्थलको नाम लिन्छन्।
उनका अनुसार यी स्थलहरूको संरक्षण, पूर्वाधार विकास र व्यवस्थित प्रवर्द्धन गर्न सके स्थानीय अर्थतन्त्रमा ठूलो योगदान पुग्न सक्छ। पर्यटन भनेको फोटो खिच्ने ठाउँ मात्र होइन, रोजगारी र आम्दानीको स्रोत हो,उनी बताउँछन्।
सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र कृषिको आधुनिकीकरण उनका अन्य मुख्य एजेन्डा हुन्। ग्रामीण सडक सञ्जाल सुधार, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँच, सुरक्षित खानेपानी र आधुनिक कृषिप्रणालीलाई उनले विकासको आधार मानेका छन्।
पार्टीका नेता विशेन्द्र चेम्जोङका अनुसार लिम्बूको अभियान अहिले पूर्ण रूपमा गाउँ–गाउँ केन्द्रित छ। दैनिक रूपमा भेटघाट, अन्तरक्रिया र छलफल भइरहेका छन्,उनी भन्छन्।
चुनावी नतिजा कस्तो आउँछ भन्ने कुरा भविष्यले बताउनेछ। तर मोरङ–१ मा कुशल लिम्बूले ‘सेवक भएर राजनीति’ गर्ने आफ्नो दाबीलाई मतदातासामु निरन्तर प्रस्तुत गरिरहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय