उर्लाबारी । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार कुशल लिम्बूले चुनावी भेटघाट तथा छलफल कार्यक्रमलाई तीव्र बनाउनुभएको छ । उहाँले उर्लाबारी, मिक्लाजुङ, लेटाङ र केराबारीका विभिन्न क्षेत्रमा घरदैलो तथा अन्तरक्रिया कार्यक्रम गर्दै पार्टीका कार्यकर्ता, समर्थक तथा स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरिरहेका छन् ।
भेटघाटका क्रममा लिम्बूले एक पटक आफूलाई अवसर दिन मतदातासँग आग्रह गर्दै चुनाव चिन्ह तारामा मतदान गरी विजयी गराउन अनुरोध गर्नुभयो । उहाँले आफू प्रदेश सभा सदस्य हुँदा समेत दलभन्दा माथि उठेर जनताको हितमा काम गरेको अनुभव सुनाउँदै अब प्रतिनिधि सभामा पुगेर अझ प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले राजनीति परिवर्तनको माध्यम र जनसेवाको साधन भएको उल्लेख गर्दै वर्तमान संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुत बनाउने, प्रतिगामी कदमलाई परास्त गर्दै प्रतिगमनको ढोका सधैंका लागि बन्द गर्ने लक्ष्यका साथ अघि बढेको बताउनुभयो । गतिशील नेतृत्व निर्माण, गलत प्रवृत्तिविरुद्ध संघर्ष र जनकेन्द्रित आन्दोलनलाई थप सशक्त बनाउने आफ्नो प्राथमिकता रहेको उहाँको भनाई छ । लिम्बूले आधारभूत जनजीविकाका सवाल समाधान, स्थानीय स्तरमै रोजगारी सिर्जना, आफ्नै लगानी र आम्दानीका कार्यक्रम विस्तार गरी आर्थिक गतिविधि बढाउने योजना पनि सार्वजनिक गर्नुभएको छ ।
मोरङ क्षेत्र नम्बर १ लाई पर्यटन हबका रूपमा विकास गर्ने लक्ष्यसहित रमिते डाँडा, जेफाले डाँडा, राजारानी पोखरी (लेटाङ), कुईनेटार, बेतिनी सिमसार, प्रगतिशील सिमसार, बाँसेचौरी सिमसार, लामपाते सिमसार, चुलिपोखरीलगायत पर्यटकीय स्थलको संरक्षण, पूर्वाधार विकास र प्रवद्र्धनलाई प्राथमिकतामा राख्ने उहाँले बताउनुभयो । साथै सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र कृषिमा आधुनिकीकरणका कार्यक्रमलाई समेत जोड दिने प्रतिबद्धता समेत उहाँले जनाउनुभएको छ । उहाँको चुनावी अभियान अहिले गाउँ–गाउँमा केन्द्रित रहेको र दैनिक रूपमा भेटघाट कार्यक्रम चलिरहेको पार्टीका नेता विशेन्द्र चेम्जोङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय