
उर्लाबारी । इलाका प्रहरी कार्यालय उर्लाबारीको कमाण्ड सम्हालेका प्रहरी निरीक्षक उद्धब पोखरेलले शान्ति सुरक्षा बलियो बनाउन नागरिक सहकार्य गर्ने बताएका छन् ।
संचारकर्मीहरुसँग परिचात्मक कार्यक्रम गर्दै उनले शान्ति सुव्यवस्था कायम राख्न अधिकतम प्रयास गर्ने बताएका हुन् । शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण र अनुसन्धान गर्ने प्रहरीको कामलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाउँदै उनले यी सबै काम गर्न प्रहरीलाई सूचनाको खाँचो रहेको बताए । ‘हामीले काम गर्ने हो , तर घटना के हो भन्ने विषयमा हामीलाई सूचना चाहिन्छ’– प्रहरी निरीक्षक पोखरेलले भने–‘सार्वजनिक हित, अपराध न्यूनीकरणका सन्दर्भमा आवश्यक सूचना दिएर सहयोग गर्न सबै नागरिकलाई मेरो आग्रह छ ।’ उनले सूचनाबिना अपेक्षित काम गर्न समस्या हुने भन्दै सूचना दिएर सहयोग गर्न अपिल गरेका हुन् । लागूऔषध दुव्र्यसन नियन्त्रणलगायत थुप्रै समस्या समाधानका लागि आफूले योजनाबद्ध काम गर्ने समेत उनले बताए । उक्त अवसरमा सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेत, अग्रज पत्रकार केदार चौहान, जगन्नाथ भट्टराई, मदनबाबु प्रसाई, रुपेन्द्र शेर्मा, मिलन के राउत, नेपाल पत्रकार महासंघ मोरङ सदस्य सुमन घिमिरे, प्रेस संगठन मोरङका सदस्य नवराज भट्टराई, प्रेस युनियनका केन्द्रीय पार्षद तेजन खड्का, जिल्ला सदस्य किशोर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।