दिपेन्द्रबहादुर विश्वकर्मा
उर्लाबारी । मोरङको उर्लाबारी वडा नं. ६ को वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रारम्भ गरेको छ ।
शुक्रबारदेखि आफ्नै भवनबाट सेवा प्रारम्भ भएको हो । लामो समयसम्म भाडामा सञ्चालनमा रहेको वडा कार्यालय र आधारभूत स्वास्थ्य केन्द्र आफ्नै भवनबाट सेवा सञ्चालन गरेको उर्लाबारी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेलले जानकारी दिनुभयो । दोस्रो कार्यकालमा निर्वाचित पौडेलले आफ्नै भवनबाट सेवा प्रवाह गर्दा चुस्त दुरुस्त सेवा प्रवाह गर्न सहज हुने बताउनुभयो । उर्लाबारी–६ को चन्द्रमा चौकमा दाताबाट प्राप्त जग्गामा १ करोड १३ लाख ५० हजार रुपैयाँ लगानीमा सभाहलसहितको दुई तले भवन निर्माण गरिएको छ । काठमाडौंको रिजन्सी विल्डर्सले भवन निर्माणको ठेक्का पाएको थियो । वडाको भवन छेउमा आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माण भएको छ । वडाको भवन र आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि स्थानीय लक्ष्मीप्रसाद आचार्यले तीन कठ्ठा जग्गामा प्रदान गरेको वडाध्यक्ष पौडेलले जानकारी दिनुभयो । आफू सधै जनताको सेवामा समर्पित भएको र जनताको शासक भन्दा पनि सेवक भएको उहाँको भनाई छ ।























