उर्लाबारी–२ को फोर लेनको सडक ठेक्काको विषयमा लिएर उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेल र प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीबीच विवाद उत्पन्न भयो । सोही विवादका कारण प्रमुख प्रशासकीय अधिकृत अधिकारीले उर्लाबारी छोडेका छन् ।
अनुभबी प्रमुख प्रशासकीय अधिकृत अधिकारी राम्रो काम गर्न खोज्दा उल्टै उपजस पाएको महशुस गरे । त्यसैकारण पनि उनले उर्लाबारी छोड्ने निर्णय गरे । उर्लाबारीलाई ब्यवस्थित शहर बनाउने संकल्प लिएका प्रमुख प्रशासकीय अधिकृतले उर्लाबारीका किसानहरुको पहिचान गरी क्रेडिट कार्डमार्फत ऋणको ब्यवस्थापनका लागि अन्तिम तयारी गरेका थिए । यो कोशी प्रदेशमै नयाँ कामको थालनी हुने निश्चित थियो । केही नयाँ कामको खाका कोरेका प्रमुख प्रशासकीय अधिकृतले उर्लाबारी छोड्ने निर्णयभित्र केही कर्मचारीको चलखेल पनि प्रष्ट देखिन्छ । ती समय घटनाक्रममा प्रष्ट हुँदै जानेछन् ।
प्रमुख प्रशासकीय अधिकृतकै अग्रसरतामा जथाभाबी प्लटिङ रोक्ने योजना बनेको थियो । जथाभाबी जग्गा खण्डिकरणले उर्लाबारी अब्यवस्थित बनेको छ । त्यसैकारण पनि उनले उर्लाबारीलाई ब्यवस्थित गराउन आवश्यक रहेको ठानेका थिए । नीति, नियम र प्रक्रियाको पूरा गरेर नगरपालिकाको काम कार्वाही अघि बढाउनु पर्छ भन्ने मान्यता राख्ने प्रमुख प्रशासकीय अधिकृतलाई हटाउन केही कर्मचारी जोडदारका साथ लागि परेका थिए । त्यो मिसनमा ती कर्मचारी सफल बने । तर, योजना र भिजनसहित प्रस्तुत हुने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले उर्लाबारी छोड्दा नगर क्षेत्रमै घाटा हुने देखिन्छ । नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको काम, कतब्र्य र अधिकार कानुनमै प्रष्ट भएकाले विवाद गर्नु पर्ने कारण नै छैन । असहमति रहेका विषयमा छलफल र परामर्श गरेर उर्लाबारी नगरपालिका क्षेत्रको विकासमा नविनतम काम गर्न आवश्यक छ । मोरङ जिल्लाको दोस्रो ठूलो शहर भनिने उर्लाबारी यतिबेला संकटको स्थितितर्फ अघि बढिरहेको छ । हरेक हिसाबले नगर क्षेत्रको अवस्था खस्किँदै जानु चिन्ताको विषय हो । हरेक विषयलाई राजनीतिको रुपमा हेर्न थालिएको छ । मठमन्दिर होस् वा विद्यालय राजनीतिबाट अछुतो छैनन् । त्यसैकारण पनि यहाँ राजनीति दलहरुले समेत यस विषयमा गम्भिर रुपमा सोच्नु पर्छ । नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको विवाद समाधान गरेर समृद्ध उर्लाबारी बनाउने अभियानमा सबै जुट्नु पर्छ । प्रमुख प्रशासकीय अधिकृतलाई काममा फर्काउने वातावरण बनाउन जनप्रतिनिधिहरुले भूमिका खेल्नै पर्छ । सबैले नीति, नियम, कानुन र परिधीमा रहेर काम गर्नु पर्छ । जो जसले कमीकमजोरी गरेको भए सच्याउनु पर्छ ।























