
उर्लाबारी । सवारी साधन जथाभावी पार्किङका कारण अस्तव्यस्त बनेको उर्लाबारीको इटहरा रोडमा आजबाट एकतर्फी पार्किङ सुरु गरिएको छ ।
साँघुरो बजारमा दुवैतर्फ पार्किङ गर्दा पैदलयात्रीलाई आवतजावतमा कठिनाईका साथै बजारमा सवारीसाधनको चाप धेरै देखिन थालेपछि एकतर्फी पार्किङ सुरु गरेको उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले बताउनुभयो ।
एकतर्फी पार्किङ कार्यान्वयन गराउन आज बिहान नगर प्रमुख खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, वडाध्यक्षहरु कल्याणकुमार राई, रविन लामा, चिन्तामणि पौड्याल, उर्मिला थापा, प्रहरी, ट्राफिक प्रहरी, स्थानीय व्यापारी, व्यवसायी, संचारकर्मीलगायत खट्नु भएको थियो । नगरपालिकाले इटहरा रोडमा एकसाता बायाँ र अर्को साता दायाँतर्फ पार्किङ गर्न गर्ने गरी संकेत चिन्ह राखेको छ ।
नगर प्रमुख खरेलले पार्किङ व्यवस्थाको ट्राफिक र नगर प्रहरीले नियमित अनुगमन गर्ने, नियम मिच्नेलाई कारवाही गर्ने बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले सरोकारवालाहरुसँगको पटक पटकको बैठक र सहमति अनुसार एक साताको आलोपालो एकतर्फी सवारी साधन पार्किङ ब्यवस्थापन सुरु गरिएको हो ।
यस्तै, नगरपालिकाले मधुमल्ला रोडमा पनि पार्किङ व्यवस्था मिलाएको छ । तर, उक्त सडक फराकिलो भएकोले एकतर्फी ‘नो पार्किङ’को व्यवस्था गरिएको छैन ।
यसैबिच नगर प्रमुख खरेलले उर्लाबारीको मुख्य बजारसँगै पूर्वपश्चिम राजमार्ग, मंगलबारे र दुर्गापुरी बजारमा पनि पार्किङ व्यवस्थित गरिने बताउनुभयो ।