
रतुवामाई । मोरङको रतुवामाई नगरपालिकाले प्रदेश सरकारको सहयोगमा कालोपत्रे गरिएका सडकहरूको दायाँबायाँ कल्की, सिरिस, कपुर लगायतका विभिन्न प्रजातिका बिरुवा रोपेर सडकको सौन्दर्यकरण गरेको छ।
नगर प्रमुख नागेश्वर प्रसाद सिंहका अनुसार नगर भित्र निर्माण भएका सडकहरूलाई आकर्षक र हरियाली बनाउन बिरुवा रोप्ने कार्यक्रम सञ्चालन गरिएको हो। “सडक छेउमा हरियाली भएमा यात्रुहरूलाई शीतलता मिल्नुका साथै वातावरण पनि स्वच्छ हुन्छ,” प्रमुख सिंहले बताए।
नगरपालिकाले यसअघि पनि सडक छेउमा फूलका बिरुवा तथा घाँस रोपेर सिँगार्ने अभियान चलाएको थियो। यसपटक थप व्यवस्थित र दीर्घकालीन प्रभाव पार्ने उद्देश्यले कल्की, सिरिस र कपुर जस्ता छायाँ दिने बिरुवाहरू रोपिएको जनाइएको छ।
स्थानीयवासीहरूले नगरपालिकाको यो कामको प्रशंसा गरेका छन्। उनीहरूका अनुसार यसले नगरको सौन्दर्य मात्रै होइन, वातावरणीय सन्तुलन कायम गर्न समेत सहयोग पुग्नेछ।
रतुवामाई नगरपालिकाले आगामी दिनमा नगरका अन्य मुख्य सडकहरूमा समेत यस किसिमको बिरुवा रोप्ने योजना बनाएको छ।