उर्लाबारी । मोरङको उर्लाबारी–४ को किसान चौक–कान्छी चौक–मिक्लु खोला जोड्ने सडक निर्माणमा ठेकेदारको चरम लापरबाही देखिएको छ ।
केही ठाउँमा साईड वाल निर्माण गुणस्तरीय नभएको पाइएको हो । केही स्थानमा निर्माण गरिएको वाल लड्न लागेको अवस्था छ भने कतिपय स्थानमा सिमेन्टको मात्रा निकै कम प्रयोग भएको पाइएको छ । पटक पटक ठेकेदार पक्षलाई खबरदारी गर्दासमेत अटेरी गर्ने गरेको स्थानीयबासी बताउँछन् ।
पूर्व प्रदेशसभा सदस्य कुलप्रसाद साम्बा (कुशल), उर्लाबारी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कल्याणकुमार राई, उर्लाबारी नगरपालिका वडा नं. १ का वडाध्यक्ष तिलककुमार पाण्डेसहितको टोलीले अनुगमन गर्ने क्रममा ठेकेदारको चरम लापरबाही भएको पाइएको छ ।

पूर्व प्रदेशसभा सदस्य कुशलले ठेकेदार पक्षले केही स्थानमा वाल गुणस्तरहिन बनाएको र माटोको स्थानमा बालुवा हालेर पुरेको पाइएको बताउनुभयो । ठेकेदार पक्षले तत्काल गुणस्तरहिन काम भएको स्थानमा भत्काएर पूर्ण निर्माण नगरे त्यसका विरुद्ध सशक्त कदम चाल्ने उहाँले बताउनुभयो । ‘गुणस्तरीय काम हुनुपर्छ’ उहाँले भन्नुभयो–‘मैले चुनाब हारेपनि यस क्षेत्रको विकासमा सधैं क्रियाशिल रहनेछु, मेरो क्षमताले भ्याएसम्म जनताको काम गर्न छोड्दिन ।’ सडक निर्माणमा कुनै कमीकमजोरी स्वीकार नहुने बताउँदै सम्झौताअनुसारको काम हुनु पर्नेमा उहाँले जोड दिनुभयो । ‘ठेकेदार पक्षले अटेरी गर्ने काम भयो भने अब जनताले सह्दैनन्’ उहाँले भन्नुभयो–‘दण्डित हुने गरी होइन सम्मानित हुने गरी काम गर्न पर्छ ।’ सडक निर्माणको ठेक्का सरोज एसी जेभी कम्पनीले लिएको थियो । कालोपत्रेसहितको सडक निर्माणको काम भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय