उर्लाबारी । मोरङको उर्लाबारीमा सम्पन्न पाँचौ उर्लाबारी मेयर कप फुटबल प्रतियोगिताको उपाधिका उर्लाबारी नगरपालिका वडा नं. ६ ले जितेको छ ।
उर्लाबारी फुटबल क्लबको आयोजना र उर्लाबारी नगरपालिकाको सहयोगमा उक्त प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा वडा नं. ३ लाई १–० गोल अन्तरले पराजित गर्दै वडा नं. ६ ले उपाधि जितेको हो । पहिलो हाफमा दुबै टिमले आक्रमक खेल्दै बराबरीमा रोकिएका थिए । दोस्रो हाफमा उर्लाबारी–६ का विशाल तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाए । सोही गोल नै खेलको निर्णायक गोल बन्यो । खेल सकिएपछि उर्लाबारी–३ का खेलाडी बिदुर रिजाल र रेफ्री मनोज तामाङबीच विवाद उत्पन्न भएपछि उपविजेता बनेको उर्लाबारी वडा नं. ३ ले पुरस्कार बहिस्कार गरेको छ । विवादका कारण पुरस्कार वितरणमा विजेता वडा नं. ६ का मात्रै खेलाडीहरुको सहभागीता रहेको थियो । बिजेता वडा नं. ६ ले १ लाख नगदसहित ट्रफी मेडल र प्रमाणपत्र पाएका छन् । उपविजेता बनेको वडा नं. ३ ले ५० हजार पाउने छ । सो पुरस्कार भने वितरण भएन ।
उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मिनादेवी पौडेल, वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेल, वडा नं. ४ का वडाध्यक्ष कल्याणकुमार राई, वडा नं. ८ का वडाध्यक्ष कुलबहादुर कार्की, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देबेन्द्र दासलगायतले वितरण गर्नुभएको छ । क्लबका अध्यक्ष दिपेन्द्र धिमालको सभापतित्व एबं सचिब घनश्याम भण्डारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय