उर्लाबारी । पूर्वपश्चिम एसियन राजमार्ग निर्माणका लागि मोरङको कानेपोखरीबाट रुख कटान सुरु भएको छ ।
‘दुई लेन’सडकलाई चार लेनमा रुपान्तरण गर्ने उद्देश्यअनुरुप निर्माण सुरु गरिएको एसियन राजमार्गको पश्चिम खण्डमा आजदेखि रुख कटान सुरु भएको हो । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती (सुशिल) ले पश्चिम खण्डको रुख कटानको सुरुवात गर्नुभएको थियो । मन्त्री उप्रेतीले बाटो निर्माणका लागि रुख काट्नु स्वभाविक भएको र रुख काट्नका लागि बाटो बन्नु ठिक नभएको तर्क राख्नुभयो । ‘एसियन हाइवे’ समयमै निर्माण गर्न प्रदेश सरकारले बाधा अड्चनहरुमा सहजीकरण गर्ने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो । ‘एसियन हाइवे’ गौरबको योजना भएको उल्लेख गर्दै उहाँले कुनै पनि बहानामा निर्माण कार्य रोकिन नहुने बताउनुभयो । ‘समयमै निर्माण कार्य सम्पन्न गर्न आवश्यक छ’ उहाँले भन्नुभयो–‘त्यसका लागि कोशी प्रदेश सरकारले के कस्तो सहजिकरण गर्नुपर्छ, त्यसका लागि हाम्रो पहलकदमी रहनेछ ।’

एसियाली विकास बंैकको सहयोगमा एसियन हाईवेसँग जोडिएको पूर्वी नेपालको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म १२० किलोमिटर सडक चार लेनको काम अघि बढेको सडक आयोजना प्रमुख जगत प्रजापतीले बताउनुभयो । सातदेखि ११ मिटर चौडाइको बिटुमिन सडकलाई ग्रामीण तथा वन क्षेत्रमा २४ मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडाइको बनाउने बताइएको छ । एसियाली विकास बैंकको २८ अर्ब १७ करोड रुपैयाँको लागतमा झापा, मोरङ र सुनसरीसँग जोडिएको पूर्व पश्चिम राजमार्गको १२० किलोमिटर क्षेत्र चार लेनको बनाउनेछ । ७१ वटा नयाँ पुलसहित राजमार्ग विस्तार हुनेछ । राजमार्ग विस्तारका क्रममा १२ हजार भन्दाबढी रूख कटान हुनेछन् ।
एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘महान् एसियाली राजमार्ग’ अन्तर्गत नेपालको एक किलोमिटर भागमा मेचीपुल निर्माणसँगै संरचना पूर्णरुपमा निर्माण भइसकेको छ । फराकिलो सडकका कारण सडकमा हुने सवारी दुर्घटना घटाउन तथा पूर्वी नाकाबाट स्थलमार्ग हुँदै आउने पर्यटकको संख्या बढ्ने हुँदा मुलुकको अर्थतन्त्रमै टेवा पुग्ने अपेक्षा गरिएको छ ।























