उर्लाबारी । मोरङको बेलबारीमा श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन् । बेलबारी नगरपालिका–१ का ६० वर्षीय बमबहादुर लिम्बूले श्रीमती ४५ वर्षीया गीता लिम्बूको हत्यापछि आत्महत्या गरेका हुन् ।
मोरङ प्रहरी अनुसार बमबहादुरले बुधबार बिहान १ः४० बजेतिर दाउ प्रहार गरेर पत्नी गीताको हत्या गरेका थिए । दाउ प्रहारबाट टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेकी गीताको घटनास्थलमै मृत्यु भएको थियो ।
पत्नीको हत्या गरेपछि बमबहादुरले पनि त्यही दाउले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । घाँटी रेटेर गम्भीर घाइते अवस्थामा बमबहादुरलाई प्रहरीले फेला पारेको थियो । उनलाई उपचारको लागि विराटनगरको नोबेल अस्पताल ल्याइएकोमा मृत्यु भएको मोरङ प्रहरीको भनाई छ ।
हत्याको कारण भने खुलिसकेको छैन । गीताको शवको मुचुल्का गरी उठाइएको छ । बमबहादुरको शव कोशी अस्पतालमा राखिएको छ । बमबहादुर र गीता दुवैले दोस्रो बिहे गरेका थिए । उनीहरूका ८ वर्षीय एक जना छोरा छन् । बमबहादुरले छोरामाथि पनि आक्रमणको प्रयास गरेका थिए । तर, उनी भने भागेर बाँचेका थिए ।

‘कोठामा बुवाले आमालाई दाउ प्रहार गरेपछि आफूलाई पनि प्रहार गर्न खोज्दा भागेर जोगिएको बालकले बताएका छन्,’ प्रहरी स्रोतले भन्यो । बालकलाई चोटपटक लागेको छैन । मृतक दुबै स्थानीय निर्मला राईको घरमा चार वर्षदेखि डेरा बस्दै आएका थिए । श्रीमान–श्रीमतीबीच दिनहुँजसो झगडा भइरहने गरेको प्रहरीले जनाएको छ । श्रीमानले श्रीमतीलाई बढी शंका गर्ने गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय