उर्लाबारी,व्लड क्यान्सरबाट पीडित उर्लाबारीका एक शिक्षकलाई निजी तथा आवासीय विद्यालय अर्गनाइनेशन नेपाल (प्याव्सन) नगर समिति उर्लाबारीले नगद सहयोग गरेको छ । उर्लाबारी–४ स्थित सप्तकोशी आमाविका शिक्षक यज्ञप्रसाद न्यौपानेको उपचारका लागि प्याव्सन नगर समितिले ३ लाख १५ हजार ५ सय रुपैयाँ सहयोग गरेको हो ।
आज प्याव्सन नगर समितिको कार्यालयमा एक कार्यक्रम गरी शिक्षक न्यौपानेकी आमा दुर्गादेवी न्यौपानेलाई नगर प्याव्सनका अध्यक्ष दिनेश पोख्रेल र प्याव्सनका निवर्तमान केन्द्रीय सदस्य लेखनाथ भट्टराईले चेक हस्तान्तरण गर्नुभयो । प्याव्सन आवद्ध विद्यालय, शिक्षक तथा विद्यार्थीबाट सहयोग संकलन गरेर शिक्षक न्यौपानेको उपचारका लागि उक्त रकम प्रदान गरिएको अध्यक्ष पोख्रेलले बताउनुभयो ।
उर्लाबारी–९ कुलझोडा घर भएका १९ वर्षीय शिक्षक न्यौपानेको ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको छ । उहाँको उपचारका लागि सप्तकोशी आमाविबाट १ लाख २३ हजार रुपैयाँ र नगर प्याव्सनमा आवद्ध अन्य विद्यालयबाट १ लाख ९२ हजार ५ सय रुपैयाँ संकलन भएको हो । प्याव्सन सञ्चालक, शिक्षक, विद्यार्थी, अभिभावक जटिल प्रकारका रोगबाट ग्रसित भएर सहयोगको याचना गरेमा प्याव्सनले सहयोग गर्दै आएको अध्यक्ष पोख्रेलले बताउनुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा प्याव्सन नगर समिति सचिव कुवेर न्यौपाने, कोषाध्यक्ष आनन्द कार्की, न्यु भिजन एकाडेमीका प्रिन्सिपल अजितकुमार भट्टराई, हिमचुली बोर्डिङ स्कुलका प्रिन्सिपल लेखनाथ खड्का, कुडोस विद्यासदनका संस्थापक÷प्रिन्सिपल सूर्य पौडेल, पल्लवी विद्या मन्दिरका प्रिन्सिपल ढुण्डुराज भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

नेपाली पोर्टलबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय