उर्लाबारी । कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती (सुशिल) ले आफ्नो निर्वाचन क्षेत्रमा सक्रियता बढाउनुभएको छ ।
मन्त्री उप्रेती बुधबार आफ्नो निर्वाचन क्षेत्रमा ५ कार्यक्रमहरुमा सहभागी बन्नुभयो । रतुवामाई वडा नं. १ मा निर्मित कल्याणपुर सामुदायिक भवनको उद्घाटन मन्त्री उप्रेतीले गर्नुभयो । तराई मधेस समृद्धि कार्यक्रम अन्तरगत बनेको उक्त सामुदायिक भवन निर्माणमा मन्त्री उप्रेतीले पहलकदमी लिनुभएको थियो । बुधबारै मन्त्री उप्रेतीले रतुवामाई–१ मा सहिद राम थापाको शालिक अनावरण गर्नुभयो । नगरपालिकाको लगानीमा निर्माण भएको शालिकको मन्त्री उप्रेतीले अनावरण गर्नुभएको हो ।
त्यस्तै, मन्त्री उप्रेतीले रतुवामाई–२ मा निर्मित लखन पोखरी तटबन्धनको पनि उद्घाटन गर्नुभयो । प्रदेश सरकारको लगानीमा सो तटबन्धन निर्माण भएको हो । त्यस्तै, मन्त्री उप्रेतीले रतुवामाई–६ को कदल खोला तटबन्धन गर्नुभएको छ भने रतुवामाई–३ को खानेपानी आयोजनाको अनुगमन गर्नुभएको छ । मन्त्री उप्रेतीले आफ्नो निर्वाचन क्षेत्रमा प्रतिवद्धता अनुसार काम गर्न निरन्तर रुपमा काम गर्दै आउनुभएको मन्त्रीको प्रमुख स्वकीय सचिब सुमन कालिकोटेले बताउनुभयो । मन्त्री उप्रेतीको पहलमा उहाँको निर्वाचन क्षेत्र मोरङ क्षेत्र नम्बर २(१) मा ८४ वटा योजनाहरू रहेको छ । विनियोजन भएको योजनाहरू अहिले धमाधम शिलान्यास भएर निर्माण को कामहरू भइरहेको छ । कोशी प्रदेश सरकारबाट मात्रै ८४ वटा योजनाहरू रहेको छ । होलीका दिनसमेत मन्त्री उप्रेतीले आफ्नो क्षेत्रमा भएका कार्यक्रमहरुमा सहभागी बन्नुभएको थियो ।























