उर्लाबारी । मोरङको उर्लाबारीमा आइएलओ १६९ प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय परिषद् उर्लाबारीको आयोजना तथा उर्लाबारी नगरपालिकाको सहयोगमा शनिबार उक्त कार्यक्रम भएको हो । उर्लाबारी–३ स्थित धिमाल जातिय विकास केन्द्रको सभाहलमा भएको उक्त प्रशिक्षण कार्यक्रममा प्रशिक्षक गोविन्द छन्त्याल र रुद्रबहादुर तामाङले सहजीकरण गर्नुभएको थियो । उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा उर्लाबारी नगरपालिका प्रवक्ता तथा उर्लाबारी वडा नं. ३ का वडाध्यक्ष भीष्मराज बुढाथोकी, नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय परिषद् उर्लाबारी पूर्वअध्यक्ष रामकुमार राईलगायतले बोल्नुभएको थियो । कार्यक्रममा आदिवासी तथा जनजातिका अधिकार, चाहना र आकांक्षालाई राज्यको नीति, कानुन र संरचनामा सम्बोधन गर्ने, आदिवासी तथा जनजातिसँग समन्वय, परामर्श र प्रतिनिधित्व गराउन संयन्त्र स्थापना तथा विकास गर्ने, परामर्शका लागि उपयुक्त संयन्त्र र प्रक्रिया तय गर्ने, मुलुकका अन्य समुदायसँग समान अधिकार उपयोग गर्ने व्यवस्था सुनिश्चित गर्ने, आदिवासी तथा जनजाति र अन्य समुदायबीच विद्यमान सामाजिक र आर्थिक असमानता कम गर्ने, आदिवासी तथा जनजातिका सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार पूर्णरूपमा उपयोग गर्नका लागि प्रवर्धन गर्ने र आदिवासी तथा जनजातिका संस्थाहरूलाई प्रवर्धन र सहयोग गर्नेलगायतका बारेमा छलफलसमेत भएको छ । नगर समन्वय परिषद् उर्लाबारी अध्यक्ष समशेर लिम्बूको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष सूर्य माझीले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिब नारायण चाम्लिङले गर्नुभएको थियो । कार्यक्रममा उर्लाबारीभरीका आदिबासी जनजाति समूदायका ब्यक्तिहरुको उल्लेखिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय