मोरङको उर्लाबारी नगरपालिका–२ मा रहेको लामपाते सिमसार पोखरीमा डुवेर एक बालकको मृत्यु भएको छ ।
सालबारी सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गरेको सिमसारको उक्त पोखरीमा साथीहरुसंग पौडी खेल्न आएका ११ बर्षीय बालक सूर्य गौतमको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर–१ हनुमान चौकमा हजुरबा हजुरआमासँग बस्दै आएका गौतम स्थानीय ९ जना साथीहरुसँग पथरीबाट ४ किलोमिटर टाढा रहेको पोखरीमा पौडि खेल्न आएको प्रहरीले जनाएको छ ।
पौडि खेल्ने क्रममा पोखरीमा डुवेका बालकलाई उनीहरुकै साथी मध्येका भूमिराज लिम्बू र राजेश तामाङले पोखरीबाट उद्धार गरी पोखरीको डिलमा निकालेको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो करिब १ बजेको समयमा उनीहरु त्यहाँ पौडि खेल्न आएको बताइएको छ । बालकको शव पोष्टमार्टमका लागि उर्लाबारी–३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पातल एण्ड ट्रमा सेन्टरमा राखिएको प्रहरीले जनाएको छ ।
घटनाका बारेमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक देवेन्द्र दासले बताउनुभयो । बालक पथरीमा रहेको पञ्चायत माध्यमिक विद्यालय कक्षा ५ मा अध्ययन गर्ने विद्यार्थी हुन् । उनको आज नै वार्षिक परिक्षाको परिक्षाफल प्रकाशित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय