उर्लाबारी । मोरङ्गमा वसोवास गर्दै आएका कोच समुदायको सिरुवा पर्व सुरुवातसंगै मोरङ्गको सुनवर्षीमा मेला लागेको छ ।
सुनवर्षी पोखरी र मन्दिरमा पुजा आजा गर्ने र मेला भर्नेको ठुलो संख्यामा भिड लागेको छ । वैशाख १ गतेबाट कोच समुदायको सिरुवा पर्व सुरु हुने र १५ दिन सम्म मेला लाग्ने गरेको छ । सुनवर्षी पोखरी तथा मन्दिरमा पुजाआजा गर्नाले मनोकामना पुरा हुने जनविश्वास रहेको छ । सन्तान प्राप्ती र सन्तान सुखका लागी धेरैले पोखरीमा कागजबाट बनाइएको घोडा चडाउने गरेका छन् ।
पोखरी तथा मन्दिरमा पुजा आजा गर्नाले महत्वकांक्षा पुरा हुने तथा वलि पनि दिने गरिएको छ । ‘भक्तजनले परेवा, हास तथा बोकाको पनि वलि दिने गर्छन् । पोखरीमा फुल घोडा तथा माटोले वनेका हात्ति र घोडा चडाउने गरिन्छ । सिरुवा पर्व कोच समुदायको भए पनि अन्य समुदायका मान्छेले समेत पुजा आजा गर्ने गरेका छन् ।
परापुर्वकालबाट चलिआएको मेला भएकाले र आफ्नो मनको कुरा पुरा हुने भएकाले यसको महत्व रहेको स्थानिय बताउँछन् । सुनवर्षी मेलाबाट सुरु भएको सिरुवा पर्वमा मोरङ्ग र सुनसरीका विभिन्न स्थानमा मेला लाग्ने गरेको छ । वैशाख २ गते काटा, ३ गते घुरघुरा, ४ गते दलेली हुँदै १५ गतेसम्म मेला लाग्ने गरेको स्थानीयबासी बताउँछन् । यस्ता किसिमका सास्कृतिक तथा धार्मिक आस्था बोकेका पोखरी तथा धार्मिक स्थलको प्रचारप्रसार गर्न सके आन्तरिक पर्यटनको विकास गर्न मद्दत पुग्ने छ ।























