उर्लाबारी । पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड निर्माण कार्य धमाधम भइरहेको छ ।
तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाको साथ एसियाली विकास बैंकको सहयोगमा यो सडक एसियन हाइवे मापदण्डको बन्नेछ । सडकको लागत २८ अर्ब १७ करोड रुपैयाँ छ ।
काँकरभिट्टाबाट लौकहीसम्मको १ सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिएपनि हाल ९७ दशमलव सात सय ७० किलोमिटर सडक मात्र ठेक्का लागेको छ । जसमा सडक किनारमा पर्ने ११ हजार पाँच सय १३ वटा रुख कटान हुने वातावरण प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख गरिएको काँकरभिट्टा–लौकही सडक आयोजना इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो । सडक क्षेत्रबाट ३५ मिटर क्षेत्र भित्र पर्ने रुखमात्र काटिने र काटिएका रुखको १० गुणाबढी बिरुवा रोपिने उहाँको भनाई छ ।
मोरङ खण्डमा रुख धमाधम कटान भइरहेको छ । मोरङ खण्डको ३६ किलोमिटर क्षेत्रमा पाँच हजार पाँच सय ५६ वटा रुख पर्छन् । सडक दुई खण्डमा ठेक्का लागेको छ । काँकरभिट्टाबाट दमकसम्मको ४५ किलोमिटर सडक दमकस्थित कार्यालयले हेर्नेछ भने दमकबाट इटहरी पश्चिमसम्मको सडक इटहरी कार्यालयले हेर्नेछ । सडक आयोजना इटहरी कार्यालयका प्रमुख प्रजापतिका अनुसार सडक र पुल निर्माणका लागि पाँच वटा अलगअलग ठेक्का लगाएको छ । ठूला र साना पुल निर्माणका लागि बेग्लाबेग्लै ठेक्का लागेको छ भने ० देखि ४५ किमीसम्म,४५ देखि ८५ किमीसम्म र ८५ देखि ९७ दशमलव सात सय ७० किमीसम्म पाँच वटा ठेक्का लागेको छ ।
निन्दा, विरिङ, कन्काई पुल निर्माणका लागि एउटा, रतुवा, बक्राहा र लोहन्द्रा पुल निर्माणको अर्को ठेक्का लागेको छ । यी छ वटा पुल तीन सय मिटरभन्दा लामा छन् । तीन वर्गमा निर्माण हुने सडक बजार, जङ्गल र ग्रामीण क्षेत्र भनेर छुट्याइएको छ । बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुने आयोजनाले जनाएको छ । सडक क्षेत्रमा रहेका चार सय चार वटा अस्थायी संरचना हटाउनु पर्नेछ ।
सहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुने यस सडक एकैपटक काम सुरु हुनेछ । तीन सय मिटरभन्दा लामो पुल रहेका छ स्थानमा सिग्नेचर पुल निर्माण हुनेछन् । नेपालको कालिका र तुङ्गी कन्ट्रक्सनसँग चाइनिज कम्पनीले संयुक्तरुपमा गर्ने सडक निर्माणको कामका लागि धमाधम साइड खाली गर्ने काम भइरहेको छ ।























