सिजुवा । मोरङको रतुवामाई नगरपालिकाले कोरोनाको महामारीमा संकलन गरेको राहत सामाग्री वितरण नै नगरी गोदाममा कुहाएर फालेको खबर सार्वजनिक भएपछि नेकपा (माओवादी केन्द्र) ले ध्यानाकर्षण भएको जनाएको छ ।
शनिबार नेकपा (माओवादी केन्द्र) रतुवामाईका अध्यक्ष प्रकाश साह र सचिब बद्रि पोखरेलले विज्ञप्ती जारी गर्दै उक्त घटनाको सत्यतथ्य सार्वजनिक गर्न सर्वपक्षीय छानविन समिति बनाउन माग गरेको हो । जनप्रतिनिधिहरुको चरम लापरवाही तथा गलत चलखेलका कारण लामो समय वितरण नगरी राख्दा लाखौं मूल्य बराबरको सामग्री काम नलाग्ने अवस्थामा पुगेको माओवादीले ठहर गरेको छ । रातारात जनताको आँखामा छारो हालेर गोप्य ढंगले कुनै कानुनी प्रक्रिया नपु¥याई रतुवा खोलाको बगरमा गाडेको पाएको विज्ञप्तिमा उल्लेख छ । बैशाख ७ गते स्थानीयको सहयोगमा उत्खनन गर्दा ठूलो परिमाण भेटिएको जनाइएको छ । उक्त खाद्य वस्तु खरिद तथा डम्पिन गर्दा भएको भ्रष्टाचार र चलखेलको छानविन गर्न माओवादीले माग गरेको छ । गत माघको अन्तिम सातातिर रतुवामाई ७ मा रहेको डम्पिङ साइडमा लगेर उक्त सामाग्री गाडिएको बुझिएको छ ।























