सरोज बस्नेत
उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नं. ८ ले २०८०÷०८१ को नीति, कार्यक्रम तथा बजेटमा आर्थिक विकास अन्तरगत ड्राइभिङ तालिममा २ लाख बजेट छुट्याएको थियो । ड्राइभिङ तालिम सञ्चालनका लागि न्यू फोरेन ड्राइभिङ ट्रेनिङ सेन्टरले चैत्र ६ गते निवेदन दियो ।
न्यू फोरेन ड्राइभिङले २ लाखमा २० जनालाई सिकाउने भयो । १ महिना दैनिक ६ किलोमिटर ड्राइभिङ सिकाउनु पर्ने थियो । वडा कार्यालयले नगरपालिकालाई न्यू फोरेन ड्राइभिङको नाम सिफारिस गरेर निवेदन पनि पठायो । सोही निवेदन लिएर चैत्र ७ गते न्यू फोरेन ड्राइभिङका सञ्चालक विनोद बजगाई उर्लाबारी नगरपालिकाको कार्यालय पुग्नुभयो । त्यहाँ पुग्दा त अर्कैलाई कर्मचारीहरुले ड्राइभिङ तालिम दिइसकेको जानकारी पाउनुभयो । बजगाई अक्कनवक्क हुनुभयो । त्यसपछि उहाँले प्रमुख प्रशासकीय अधिकृत लगायतलाई कुरा राख्दा पनि कुनै चासो नदिएको बताउनुभयो । ‘आन्तरिक छलफल गछौं भन्दै उपप्रमुखसहित बस्नु भएको थियो’ उहाँले भन्नुभयो–‘त्यसपछि यस पटक यस्तै भयो अर्को पटक तपाईंलाई दिन्छौं भन्ने जवाफ आयो ।’
वडाबाट सिफारिस बोकेर जाँदासमेत आफुले काम गर्नबाट बञ्चित हुनु परेको उहाँले गुनासो पोख्नुभयो । ‘कर्मचारीको सेटिङमा अर्कै ड्राइभिङ सेन्टरलाई तालिम सञ्चालनका लागि दिएको पाएको छु’ उहाँले भन्नुभयो–‘राम्रो सिकाउने भन्दा पनि जसले पैसा दिन्छ, उसैलाई योजना
कर्मचारीले दिने गर्दारहेछन् ।’ यो मात्रै सार्वजनिक भएको घटना होइन । आदिबासी जनजातिहरुका लागि क्षमता विकास नगरपालिकाले ड्राइभिङ तालिम राखेको थियो । ४० जनालाई एक महिनासम्म सिकाउनु पर्ने सूचना नगरपालिकाले प्रवाह गरेको थियो । तर, ५० जना सिकाउने ड्राइभिङ सेन्टर प्रस्ताव आउँदासमेत नगरपालिकाका कर्मचारीले मानेनन् । ४० जना सिकाउने ड्राइभिङ सेन्टरलाई नै ड्राइभिङ तालिम दिएको नेपाल आदिबासी जनजाति महासंघ समन्वय नगर समिति उर्लाबारीका अध्यक्ष समशेर लिम्बू बताउनुहुन्छ । ‘५० जना सिकाउँछु भन्ने ड्राइभिङ सेन्टर पनि आएको थियो’ उहाँले भन्नुभयो–‘तर, कर्मचारीहरुले अगाडि नै अर्कै ड्राइभिङ सेन्टरलाई दिइसकेका रहेछन् ।’
उर्लाबारी नगरपालिका क्षेत्रका अधिंकाश ड्राइभिङ तालिम नेम्बाङ ड्राइभिङ सेन्टरले गर्दै आएको बुझिएको छ । ‘उर्लाबारीमा नेम्बाङ ड्राइभिङ सेन्टरबाहेक अरुले जति नै सस्तो र राम्रो सिकाएपनि योजना पाउने चान्स छैन’ एक ड्राइभिङ सेन्टरका सञ्चालक भन्छन्,‘हामी पैसा दिँदैनौं, उनीहरु हामीलाई योजना दिँदैनन् ।’ ड्राइभिङ तालिममात्रै होइन हरेक काममा कर्मचारीको सेटिङमा हुने गरेको जानकार स्रोत बताउँछ । जनप्रतिनिधिहरु समेत थाहा नपाएजस्तो गरिरहेका छन् । एउटै ब्यक्तिले तीन वटा कम्पनीबाट प्रस्ताव पेश गरेर योजना हत्याउने गरेका छन् ।
सडक निर्माणमा इन्जिनियरहरु स्वम्ले ठेकेदार खोजेर उपभोक्ता समितिसम्म सम्पर्क गराउने गरेका छन् । कतिपय जनप्रतिनिधिहरुले कार्यक्रम दिँदा आफ्ना नजिकका ब्यक्तिलाई पनि समेट्नु भन्दै अप्रत्यक्ष रुपमा रकम चप्काउने गरेको भक्ताभोगी बताउँछन् । बेतिथिको चाङ बढिरहेको भएपनि जनप्रतिनिधि रमितेमात्रै भइरहेका छन् । यसमा गम्भिर ध्यान जान जरुरी छ । यस विषयमा नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेललाई फोन गर्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय