उर्लाबारी । धिमाल समूदायहरु यतिबेला आफ्नो मौलिक पर्व जात्री मनाइरहेका छन् । नयाँ वर्षको आगमनसँगै मनाइने यो पर्व वैशाख २ गते सुरु भैसकेको छ । धिमाल जातिको उद्गमस्थल मोरङको भोगटेनीस्थित राजारानीमा मेलाका साथ जात्री पर्व सुरु हुन्छ । ग्रामथानमा हाँस कुखुरा, सुँगुर आदिको बलि दिइन्छ । त्यसपछि यो पर्व धिमाल बस्तीका टोलटोलमा पुग्छ ।
उर्लाबारी–४, ५ र ६ को संयुक्त रुपमा उर्लाबारी–५ मा जात्री पर्व मनाइएको छ । प्रकृतिपूजक धिमालहरू रोगव्याधि नलागोस्, बाली–बिरुवा लगाउने बेला वर्षात होस्, जंगली जनावरले दुःख नदिऊन् भन्ने कामनासहित महाराजस्थानमा गएर सामूहिक पूजाआजा गर्छन् । परापूर्वकालमा धिमालहरूले यी समस्या समाधान गर्न ग्रामधानमा पूजा गर्दा मनोकामना पूरा भएपछि यसलाई निरन्तरता दिइएको जनविश्वास छ ।























