उर्लाबारी । मोरङको रतुवामाई नगरपालिकाले कोरोनाको महामारीमा संकलन गरेको राहत सामाग्री वितरणनै नगरी गोदाममा कुहाएर फालेको विषयलाई लिएर नेकपा माओवादी केन्द्रले ज्ञापन पत्र बुझाएको छ ।
आइतबार रतुवामाई नगरपालिकाका प्रमुख नागेश्वर सिंहलाई माओवादीका रतुवामाई अध्यक्ष प्रकाश साह र युवा नेता सुमन कालिकोटेले ज्ञापन पत्र बुझाउनुभएको हो । कोरोनाको महामारीमा विभिन्न निकाय र दाताहरुबाट संकलन गरेको राहत नगरपालिकाले गोदाममै कुहाएर खोला किनारमा लगेर गाड्नु खेदजनक भएको माओवादीले जनाएको छ ।
माओवादीले कोरोना महामारीमा प्रभावित भएकाहरुलाई सहयोग गर्न उक्त सामग्री कहाँबाट कसरी प्राप्त भएको हो भन्ने विषयमा स्पष्ट पार्न माग गरेको छ । माओवादीका रतुवामाई अध्यक्ष साहले किसानलाई वितरण गर्नुपर्ने बिउबिजन र रसायनिक मल वितरण नगरी किन नष्ट गरियो र ती सामग्री कहिले कतिमा खरिद भएका हुन भनेर नगरपालिकासँग जवाफ माग गरेको बताउनुभयो । नगरपालिकाले आफूले गरेको भ्रष्टाचार लुकाउन खाद्य सामाग्री र बिउबिजन खोला किनारमा लगेर गाडेको अध्यक्ष साहले आरोप लगाउनुभयो । घटनामा संलग्न जिन्सी शाखाका प्रमुखसहितका कर्मचारीमाथिसमेत छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न, घटनाको स्वतन्त्र र निश्पक्ष छानविन गर्न सर्वपक्षीय छानविन गठन गर्न र दोषीमाथि कारवाही गर्न माओवादीले माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय