उर्लाबारी । मोरङको रतुवामाई नगरपालिकाले कोरोनाको महामारीमा संकलन गरेको राहत सामाग्री वितरण नै नगरी गोदाममा कुहाएर फालेको भन्दै नागरिक समाज तथा विभिन्न राजनीतिक दलहरुले आन्दोलन चर्किएका छन् ।
रतुवामाई नगरपालिकामा मंगलबार छलफल भएपनि निष्कर्षमा नपुगेपछि थप आन्दोलन चर्किएको हो । नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत राजनीति दल र नागरिक समाजले आन्दोलन गरिरहेका छन् । विवाद समाधान गर्न नगरपालिकाले पहलकदमी लिएपनि आन्दोलनरत पक्षले कृषि शाखा प्रमुख, जिन्सी प्रमुख, स्वास्थ्य शाखा प्रमुख र लेखा शाखा प्रमुखलाई तत्काल निलम्बन गरी छानविन अघि नबढाएसम्म कुनै सहमति नगर्ने अडान लिएपछि सहमति हुन सकेन । चार चरणमा छलफल भएपनि सहमतिको विन्दुमा नपुगेको आन्दोलनरत नेकपा माओवादी केन्द्रका नेता प्रदिप नेपालीले जानकारी दिनुभयो । रतुवामाई नगरपालिकामा बेतिथि बढिरहेका भन्दै उहाँले निष्पक्ष छानविन नगरी उन्मुक्ति दिन खोजेकाले आन्दोलन गर्नु परेको बताउनुभयो । ५ वटा मोटरसाइकलमा निजी र सरकारी दुई वटा प्लेट राखेर कुदाउने गरेको पाएको र प्रहरीलाई छानविनका लागि बुझाएको उहाँको भनाई छ । घटनालाई ढाकछोप गर्न नगरपालिका सक्रिय भएकाले त्यसका विरुद्धमा रतुवामाईबासीहरु चरणबद्ध आन्दोलनमा उत्रिनु परेको उहाँले बताउनुभयो । बुधबार रतुवामाई नगरपालिका घेराउसहित विरोध प्रदर्शन गर्ने उहाँले जानकारी दिनुभयो । सर्वदलिय सर्वपक्षिय समिति गठन गरी घटनाको सत्यतथ्य छानविन गर्न आन्दोलन पक्षले माग गरेको छ । कोरोनाको महामारीमा विभिन्न निकाय र दाताहरुबाट संकलन गरेको राहत नगरपालिकाले गोदाममै कुहाएर खोला किनारमा लगेर गाड्नु खेदजनक भएको उनीहरुले ठहर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय