उर्लाबारी । मोरङ क्षेत्र नं. २ (१) का प्रदेश सांसद तथा पूर्वमन्त्री गणेशप्रसाद उप्रेती (सुशिल) ले रतुवामाई नगरपालिकाले कोरोनाको महामारीमा संकलन गरेको राहत सामाग्री वितरण नै नगरी गोदाममा कुहाएर फालेको विषयमा सत्यतथ्य छानविन गर्न माग गर्नुभएको छ ।
नेकपा माओवादी केन्द्रका कोशी प्रदेश सचिबसमेत रहनुभएका सांसद उप्रेतीले प्रेस विज्ञप्ति जारी गर्दै नगरपालिकाको नेतृत्वलाई सत्यतथ्य छानविन गर्न माग गर्नुभएको हो । रतुवामाई नगरपालिकाले विभिन्न समयमा खरिद गरेको र विभिन्न दातृ संघसंस्थाबाट प्राप्त खाद्यान्यसहित मल र विउविजन नगरबासीलाई समयमा वितरण नगरी नष्ट गरेको भन्दै सार्वजनिक भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । नगरपालिकाको आर्थिक कोषबाट राहत प्रदान गर्नका लागि खरिद गरेको खाद्य सामाग्री चालम, दाल, तेल, नुन र नगरपालिकाको कृषि शाखाबाट कृषकलाई अनुदानमा वितरण गर्न खरिद गरेको मल, बिउविजन नगरपालिकाकै लापरवाहीबाट काम नलाग्ने अवस्थामा पुगेपछि गुपचुप रुपमा नष्ट गरिएको घटनाले आम नगरवासीलाई चिन्तित र आक्रोशित बनाएको पनि सांसद उप्रेतीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । नगरपाकिलाका जनप्रतिनिधि र जिम्मेवार पदाधिकारीहरुको लापरवाहीको कारण लाखौं मूल्य बराबरकोे सामग्री काम नलाग्ने अवस्थामा पुग्नु र रातारात त्यसलाई खोलाको बगरमा लगेर गाडिएको तथ्य स्थानीयले बैशाख ७ गते स्काभेटरले उत्खनन गरेपछि खुलेको विज्ञप्तिमा उल्लेख छ । नगरबासीलाई वितरण गर्नु पर्ने सामाग्री समयमा वितरण नगर्ने र त्यसलाई गुपचुप रुपमा नष्ट गर्ने कार्य भएकोप्रति सांसद उप्रेतीले दुख ब्यक्त गर्नुभएको छ । खरिद गरिएको सामग्री वितरण नगरी गोदाममा थन्क्याउन र काम नलाग्ने अवस्थामा पुगेपछि रातारात नष्ट गर्नुले खरिद प्रक्रियामाथि प्रश्न खडा भएको विज्ञप्तिमा भनिएको छ ।























