उर्लाबारी । मोरङको मिक्लाजुङबासीहरु लावा खोलाबाट पानी ल्याउन कम्मर कसेर लागि परेका छन् । स्थानीय युवा पारस मिभकको संयोजकत्वमा मिक्लाजुङ–२,३ र ४ का स्थानीयबासीहरुको दैनिकी नै भएको छ, लावा खोलाको मुहानबाट पाइपमार्फत पानी ल्याउन श्रमदान गर्ने ।
स्थानीयबासीहरु दैनिक सयौं संख्यामा श्रमदान गर्न लावा खोला पुग्ने गरेका छन् । लावा खोलाको मुहानबाट १३ किलोमिटर पाइपमार्फत पानी ल्याउन यतिबेला श्रमदान भइरहेको संयोजक पारस मिभकले जानकारी दिनुभयो । १५ दिनभित्रै लावा खोलाको पानी मिक्लाजुङ–२,३ र ४ झार्ने गरी काम गरिरहेको उहाँको भनाई छ । मिक्लाजुङ गाउँपालिकाले मुहान मर्मतका लागि छुट्याएको १० लाख रुपैयाँबाट पालिकाले नै पाइप खरिद गरिदिएपछि स्थानीयहरु यतिबेला पानी ल्याउन सक्रियतापूर्वक लागि परेका छन् । लावा खोला परियोजनामा काम ढिलाई गरेपछि स्थानीयबासीहरुले लावा खोला खानेपानी संघर्ष समिति नै बनाएर श्रमदान गरिरहेका छन् । ४ दिनअघिदेखि अभियान सञ्चालन भइरहेको छ ।
पानीको समस्या खेप्दै आएका मिक्लाजुङ–२,३ र ४ का बासिन्दाहरु श्रमदान गर्न उत्साहका साथ खटिरहेका छन् । अभियानलाई सार्थकता बनाउन देशविदेशबाटसमेत सहयोग जुट्न थालेको छ । जसरी भएपनि पानी खुवाउने अभियानमा लागि परेको सह–संयोजक दिपक पोखरेलले जानकारी दिनुभयो ।























