उर्लाबारी । पूर्वी नेपालमा बसोबास गर्दै आएका अल्पसंख्यक धिमाल समूदायको महान पर्व जात्री विभिन्न गाउँ टोलहरुमा मनाइरहेको छ ।
वैशाख २ गतेदेखि असार २ गतेसम्म धिमाल समुदायले यो जात्री पर्व मनाउने गरेका छन् । आदिवासी धिमाल जातिको उद्यमस्थल मानिएको मोरङको भोगटेनीस्थित राजारानीमा मेला लगाएर जात्री पर्व सुरु भएको थियो । त्यसपछि विभिन्न गाउँ टोलमा जात्री पर्व सञ्चालन भइरहेको छ ।
मोरङको उर्लाबारी–१ मा रहेको धिमाल जातीय विकास केन्द्र लक्ष्मीझार गाउँ समितिको आयोजना जेठ ५ गते शनिबार जात्री तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । उर्लाबारी–८ बालबिसौनीका समाजसेबी कमल लिङ्थेपलगायतको प्रायोजनामा सो कार्यक्रम हुने भएको हो ।
आज पत्रकार सम्मेलन गरी आयोजकले कोशी प्रदेशका विना विभागिय मन्त्री गणेशप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा जात्रीसहित सांस्कृतिक कार्यक्रम गरिने जानकारी दिएको हो । धिमाल समुदायका कलाकारका साथै गायक सुरेश धिमाल, नन्दु गुरुङ, हाँस्यकलाकार राकेश कमेडीलगायतको प्रस्तुति रहने आयोजक समितिका अध्यक्ष कालुराम धिमालले जानकारी दिनुभयो । विगत १५ बर्षअघिदेखि जात्री पुजा गर्दै आएको र यस पटक बृहत कार्यक्रम गर्न लागिएको उहाँको भनाई छ । धिमाल बाहेक अन्य जातीको समेत कला संस्कृति प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
प्रकृतिपुजक धिमाल रोगब्याधि नलागोस्, बाली बिरुवा लगाउने बेलामा वर्षात होस्, जंगली जनावरले दुःख नदियोस् भन्ने कामनासहित महाराजथानमा गएर सामूहिक पूजाआजा गर्ने गर्छन् । परापूर्वकालमा धिमालले यी समस्या समाधान गर्न ग्रामधानमा पूजा गर्दा कामना पूरा भएपछि यसलाई निरन्तरता दिँदै मनाउँदै आएको जनविश्वास छ । सिर्जात अर्थात सामूहिक पूजा वा जात्री नयाँ वर्षको पहिलो चाड भएकाले सालभरि कसैलाई पनि रोगब्याधि नलागोस्, शोक नपरोस् र सुख शान्ति छाओस् भनेर मनाइने गरिएको छ ।
यस पर्वले धिमाल जातिमा आपसी सम्बन्धमा प्रगाढ बनाउँदै बन्धुत्वको भावना विकास गराउने धिमाल अगुवाको भनाइ छ । असार संक्रान्तिसम्म मनाइने यो पर्व धिमालका कोशी प्रदेशका ९८ वटै टोलमा मनाइने गरिएको छ । जात्रीको अवसरमा गाउँगाउँमा मेलाको आयोजना हुने गरेको छ । जात्रीमा धिमाल आफूले भाकल गरेअनुसार वस्तु चढाउने पनि गर्दछन् । यो बेलामा धिमालका घरमा पाहुना आउने र उनीहरुलाई मासु तथा ‘चिचिरी’, ‘बगिया’लगायतका परिकार खुवाउने पनि गरिन्छ ।
धिमाल वैशाखदेखि असारसम्मका दुई महिना धिमालका प्रत्येक टोलमा ढोल बजाएर रमाइलो गर्छन् । मोरङको उर्लाबारीस्थित मंगलबारेमा रहेको धिमाल जाति विकास केन्द्रको परियोजनास्थलमा दुई महिनापश्चात अर्थात असार २ गते सांस्कृतिक मेलाको आयोजना गरी जात्री पर्व समापन गरिन्छ । मेलामा ढोलको आवाज ढङ ढङ आउने हुनाले कतिपयले जात्रीलाई ढङढङे पनि भन्ने गरेका छन् ।























