उर्लाबारी । भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेतीले धिमाल समूदाय नेपालका सबैभन्दा पुराना आदिवासी र भूमिपुत्र भएको उल्लेख गर्नुभयो ।
शनिबार मोरङको उर्लाबारी–१ मा रहेको धिमाल जातीय विकास केन्द्र लक्ष्मीझार गाउँ समितिको आयोजना भएको जात्री तथा सांस्कृतिक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । लोकतान्त्रिक गणतन्त्रमा मात्रै सबै जात धर्म र लिङ्ग भएका नागरिकले राज्यको सुविधा समान रुपमा प्राप्त गर्ने उहाँको भनाई छ । मन्त्री उप्रेतीले आरक्षणको व्यवस्था पनि सबै जातजातिलाई अवसरको समान उपयोगका लागि गरिएको उल्लेख गर्नुभयो । धिमाल समूदायको उत्थान र विकासका लागि आफुले सकारात्मक सहयोग गर्ने बताउनुभयो ।
त्यस्तै, कोशी प्रदेशसभा सदस्य तथा सचेतक शोभा चेम्जोङ पालुङ्वाले पनि धिमाल समूदायको जात्रीको अवसरमा शुभकामना ब्यक्त गर्नुभयो । कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य कुलप्रसाद साम्बा (कुशल) लगायतले बोल्नुभएको थियो ।
उर्लाबारी–८ बालबिसौनीका समाजसेबी कमल लिङ्थेपलगायतको प्रायोजनामा सो कार्यक्रम भएको थियो । धिमाल समुदायका कलाकारका साथै गायक सुरेश धिमाल, नन्दु गुरुङ, हाँस्यकलाकार राकेश कमेडीलगायतको प्रस्तुति राखेका थिए । समितिका अध्यक्ष कालुराम धिमालको सभापतित्वमा भएको उक्त कार्यक्रम सञ्चालन धिमाल पत्रकार मञ्चका अध्यक्ष विजय धिमालले गर्नुभएको थियो ।























