उर्लाबारी । मोरङको उर्लाबारी–६ की ११ बर्षीया नाबालिकालाई कुटपिट गरेको आरोपमा पक्राउ परेका युवालाई अभद्र मुद्धामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
सोमबार जिल्ला अदालत मोरङबाट ५ दिनको म्याद थप गरी सुनसरी धरान उपमहानगरपालिका वडा नं. ११ घर भई हाल उर्लाबारी वडा नं. ६ स्थित प्रमिशा राईको डेरा कोठामा बस्ने बर्ष २६ को मिशन राई भन्ने रुद्र बहादुर राईलाई अनुसन्धान अघि बढाइएको हो । उनले स्थानीय राजधन राईको नाबालिका छोरी आईसा राईलाई कुटपिट गरी घाईते बनाएका थिए । उर्लाबारी–६ को राधिका माध्यमिक विद्यालयमा कक्षा ५ मा पढ्ने नाबालिका आईसाका बुवा राजधन रोजगारीका लागि विदेशमा रहेका छन् । विद्यालयमा माक्स लगाएर आईसा पुगेकी थिइन् । त्यसपछि शिक्षकहरुले खोजीखोजी गर्ने क्रममा निर्घात कुटपिट भएको खुलेको थियो । कान्छी आमासँग बस्दै आएकी आईसाको अनुहार तथा शरिरका विभिन्न स्थानहरुमा चोट लागेको छ । पीडित नावालिकालाई उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा उपचार गरिएको छ ।























