मोरङ क्षेत्र नं. १ मा परिचित र सक्रिय राजनीतिक व्यक्तित्वका रूपमा चिनिन्छन् कुलप्रसाद साम्बा (कुशल) । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएका कुशल यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङ–१ बाट उम्मेद्वार बन्नुभएको छ ।
२०३५ सालमा बुवा बृर्खबहादुर साम्बा र आमा राममाया लिम्बूको कोखबाट मोरङको टाँडी (हाल मिक्लाजुङ गाउँपालिका–३) मा जन्मनुभएका कुशल जनजाति आन्दोलनबाट प्रभावित भई २०४८ सालदेखि राजनीति यात्रामा होमिनुभयो । सुरुमा राष्ट्रिय जनमुक्ति पार्टीको सदस्य र विद्यार्थी संगठन पूर्वाञ्चलको सदस्यसम्मको जिम्मेवारी सम्हाल्नुभयो ।
२०५७ सालमा नेकपा माओवादीमा आबद्ध भएपछि उहाँले जनमुक्ति सेनाको सेक्सन कमाण्डर, मोरङ इलाका जनसरकारका पहिलो सेना प्रमुख, इलाका पार्टी इन्चार्ज, बीएन कमाण्डर, वाइसीएल मोरङ अध्यक्ष, पार्टी मोरङ सचिव र मोरङ इन्चार्ज हुँदै हाल केन्द्रीय सदस्यको जिम्मेवारी निर्वाह गरिरहनुभएको छ । २०६२ पौष १० गते उहाँले पवित्रा दाहालसँग अन्तरजातीय विवाह गर्नुभयो । जनजाति समुदायका कुशलले आर्य समुदायकी पवित्रासँग तेह्रथुममा जनवादी विवाह गर्नुभएको थियो ।
२०७४ सालको निर्वाचनमा कुशल प्रदेशसभा सदस्यमा सानदार मतसहित विजयी हुनुभयो । २०७९ सालमा पुनः उम्मेद्वार बन्नुभए पनि उपविजेतामा सीमित हुनुभयो । यद्यपि, निर्वाचन परिणामले उहाँको सक्रियता रोकेन । हार–जितभन्दा माथि उठेर जनताको सेवामा निरन्तर खटिरहनुभएको छ । प्रदेश सांसद हुँदा उहाँले मोरङ क्षेत्र नं. १ (१) मा करिब १ अर्ब ५० लाख रुपैयाँ बजेट भित्र्याउन सफल हुनुभएको उल्लेख गरिन्छ । निर्वाचनका क्रममा गरेका प्रतिबद्धतामध्ये ९० प्रतिशतभन्दा बढी काम पूरा भएको दाबी गरिन्छ ।
उर्लाबारी र मिक्लाजुङको सिमानामा पर्ने मिक्लु खोलामा पुल निर्माण सम्पन्न भइसकेको छ । उर्लाबारी–टाँडी–रमिते सडक कालोपत्रे भएपछि रमिते क्षेत्र पर्यटकीय हबका रूपमा विकास हुन थालेको छ । बक्राहा र मावा खोला नियन्त्रण, विभिन्न सडक ग्राभेल, धार्मिक तथा सांस्कृतिक स्थल विकास, सामुदायिक भवन निर्माण, विद्यालय र क्याम्पस पूर्वाधार, खानेपानी आयोजना जस्ता क्षेत्रमा पनि बजेट विनियोजन र कार्यान्वयनमा उहाँको पहल रहेको बताइन्छ । उर्लाबारी–७ स्थित इलाका प्रहरी कार्यालयको भवन निर्माण, चिउरामिल–आम्बारी सडक कालोपत्रे तथा उर्लाबारी बहुमुखी क्याम्पस भवन निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजनजस्ता कार्यहरू पनि उहाँकै पहलमा अघि बढेका योजनाका रूपमा उल्लेख गरिन्छ ।
कुशलले चर्चित ३३ केजी सुन काण्ड, अवैध रूपमा खोलाजन्य पदार्थ निकासी, शिक्षक हत्या प्रकरण लगायतका विषयमा संसदमा आवाज उठाउनुभएको थियो । उत्तरी मोरङका जनताको समस्या र सरोकारका विषयहरू प्रदेशसभामा निरन्तर उठाउँदै आउनुभएको उहाँका गतिविधिहरूले स्थानीयदेखि राष्ट्रियस्तरसम्म चर्चा पाएको थियो । हाल उहाँ प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वारका रूपमा घरदैलो तथा जनभेटघाट कार्यक्रममा सक्रिय हुनुहुन्छ । विकास, सुशासन र जनसेवाका मुद्दालाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता उहाँले जनतामाझ व्यक्त गर्नुभएको छ । स्थानीय मतदातामाझ विकासप्रेमी नेताका रूपमा पहिचान बनाएका कुशलले यस क्षेत्रको पूर्वाधार, पर्यटन र आर्थिक उन्नयनका लागि आफू निरन्तर लागिरहने बताउँदै आउनुभएको छ । जनताको सुख–दुःखमा साथ दिने प्रतिनिधि बन्ने प्रतिबद्धतासहित उहाँ निर्वाचन अभियानमा हुनुहुन्छ ।























