पथरी । हरियाली सामुदायिक वन लिमिटेडले तीन वर्षयताको लगातार प्रयासपछि आज सम्पन्न एक भव्य समारोहमाझ पौडी पाेखरी  सञ्चालनमा ल्याएको छ । शास्त्रीय महत्त्वका दृष्टिकोणले पनि गोसाइकुण्ड स्नान आरम्भ अर्थात् दशहरा स्नान आरम्भसमेत रहेको आजको दिनलाई साइत मानेर आयोजित कार्यक्रममाझ पथरी शनिश्चरे नगरपालिका प्रमुख मोहनप्रसाद तुम्बापोले रिबन काटेर पौडी–तलावको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन क्रममा नगरप्रमुख तुम्बापोले स्थानीय वन र वन पैदावर वस्तुको विविधताको जगेर्ना गर्दै मानवमैत्री वातावरण निर्माणमा अग्रसर देखिएको हरियाली सामुदायिक वन उपभोक्ता समितिले मातहत लिमिटेडको कार्ययोजनामा बुद्धिमतापूर्ण ढंगले यो कामको थालनी गरेसँगै आफ्नो कार्यक्षमता अभिबृद्धि गरेर स्थानीय बजारको प्रवर्धन गर्न काँध हालेकोप्रति खुशी व्यक्त गर्नुभयो । उहाँले हरियालीको पछिल्लो प्रशंसायोग्य कामले पथरीको परिचय बढाएको अर्थमा थुप्रै दृष्टान्तहरू समेत पेश गर्नुभयो ।

शुभेच्छास्वरुप सम्बोधन क्रममा वडाध्यक्ष नैना राईले हरियालीले स्थानीय समुदायको विश्वास जितेकोले आफूहरूले पनि हरियालीसँग निर्धक्कताका साथ सहकार्य गर्ने गरेको प्रसंग उठाउनुहुँदै वन आफैंमा वनौषधिका अतिरिक्त जल, जमिन, वातावरण, पर्यावरण आदिको समेत स्रोत भएकोले सरोकारवाला सबै मिलेर यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

यो भेग तराई हो । गर्मी सबैलाई लाग्छ । सकेसम्म गर्मीको राप र तापको प्रभावलाई सबैले छल्नुपर्छ । यसनिमित्त पौडिन सक्ने र नसक्ने दुबै प्रकृतिका स्थानीय सेवाग्राहीको चाहना र आवश्यकतालाई ध्यानमा राख्दै यो सञ्चालनमा ल्याइएको अध्यक्ष काबुलबहादुर मगरले बताउनुभयो । दीर्घकालीन योजनाको फेहरिस्त सार्वजनिक गर्ने क्रममा अध्यक्ष मगरले तत्कालीन पर्यटनमन्त्री भानुभक्त ढकालको पहलमा प्राप्त रकमबाट कार्यारम्भ गरेको स्मरण गर्र्दै सहयोगी सबैलाई धन्यवाद ज्ञापनसहित थप सहयोगको अपेक्षा रहेको विषय निवेदन गर्नुभयो ।

छाँटिएका हाँगाबिँगाबाट घरमा पालिएका बाख्रापाठालाई डाले घाँस खुवाउने शर्तमा संगठित भएको आफ्नो विगतलाई सम्झँदै समुदायमा आधारित अधिकारकर्मी रमेश दाहालले हरियालीको कार्यप्रगतिप्रति सन्तोष जाहेर गर्नुभयो ।

वडाध्यक्षहरू, इलाका प्रहरी पथरीका प्रमुख गणेश श्रेष्ठ, सामुदायिक वनका क्षेत्रमा योजनाविद् विष्णु ज्ञवाली, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नगर अध्यक्ष युवराज बास्कोटा, अधिकारकर्मी रोहित बाँस्तोला, देवीप्रसाद भेटवाल, वडा नं. ३ बाट आएको नौमति बाजासहितको टोलि उपस्थिति रहेको कार्यक्रमको सञ्चालन निर्मला चौहानले गर्नुभएको थियो भने कार्यक्रममार्फत सहभागी सबैलाई दिलबहादुर तामाङले स्वागत सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय